बुटवल । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता शुरु गरेको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बिहान ९ः१५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको बताए । लगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने बताइएको छ । तर यो समय बढ्न पनि सक्ने अनुमान गरिएको छ । सहमति खोज्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासंग पार्टी सभापति शेरबहादुर देउवाले अहिले वार्ता गरिरहेका छन् ।
पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदका लागि निर्वाचनको काम अघि बढेको हो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७ सय ४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६ सय ३५ महाधिवेशन प्रतिनिधि रहेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।




