बुटवल । प्रविधि, उद्यमशीलता र महिला नेतृत्वको क्षेत्रमा स्थापित नाम हो—कर्भिका थापा।
अमेरिकाबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी थापाले शिक्षा, स्वास्थ्य, खुद्रा व्यापार तथा सरकारी क्षेत्रजस्ता विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय प्रविधि अनुभव हासिल गरेकी छन्।
यही अनुभवलाई स्वदेशमै उपयोग गर्दै उनले नेपाली प्रविधि क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिँदै आएकी छन्।
उनै थापा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)बाट रुपन्देही २ मा उम्मेदवार बनेकी छन। संसदीय यात्रा मार्फत उनी रोजगारी सिर्जना गर्नेगरी मैदानमा उत्रिएकि हुन। थापा सुचना तथा प्रविधी बिभाग सदस्य सचिव पनि हुन।
के के गरिन थापाले?
नेपालमा प्रविधि क्षेत्रमा महिलाको सहभागिता बढाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित थापाले किम्बु टेक स्थापना गरेकी हुन्।किम्बु टेक एक अन्तर्राष्ट्रिय सफ्टवेयर कम्पनीका रूपमा इजरायल र संयुक्त राज्य अमेरिकाका कम्पनीहरूलाई सूचना प्रविधि समाधान तथा आउटसोर्सिङ सेवा प्रदान गर्दै आएको छ।
साथै, नेपाली उत्पादन र सेवाहरूलाई विश्व बजारमा प्रवर्द्धन गर्ने लक्ष्यसहित कम्पनीले काम गरिरहेको छ। किम्बु टेकले नेपालका अग्रणी शैक्षिक संस्थामध्ये एक काठमाडौँ मोडेल कलेज शैक्षिक सञ्जालसँग सहकार्य गर्दै प्रविधि शिक्षा र दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुर्याउँदै आएको छ।
थापा हाल नक्सालस्थित सिमजुङ प्रालिकी अध्यक्षसमेत हुन्। सिमजुङ एक अन्तर्राष्ट्रिय प्रविधि सेवा प्रदायक कम्पनी हो, जसले सफ्टवेयर विकास, प्रणाली निर्माण तथा सूचना प्रविधि सेवामार्फत इजरायल र अमेरिकाका ग्राहकलाई सेवा दिँदै आएको छ। प्रविधिमा आधारित प्रणाली र प्रक्रियामार्फत कार्यक्षमता र प्रभावकारिता अभिवृद्धि गर्नु कम्पनीको प्रमुख उद्देश्य रहेको छ।
त्यसैगरी, उनी भी.एस. इन्टरनेशनल कलेजकी निर्देशक पनि हुन्। भी.एस. शिक्षा प्रतिष्ठानको दूरदर्शी सोचलाई निरन्तरता दिँदै कलेजले विद्यार्थीको शैक्षिक मात्र नभई व्यावसायिक र सामाजिक विकासमा समेत जोड दिँदै आएको छ।
कर्भिका थापा उद्योग, व्यवसाय र महिला नेतृत्वका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय रहँदै आएकी छन्। उनी डिजिटल लैङ्गिक विभाजनसम्बन्धी महिला नेतृत्व सम्मेलन–२०२३ मा प्यानल वक्ताका रूपमा सहभागी भइसकेकी छन्। व्यवस्थापन संघ नेपालबाट उनलाई सन् २०२२ की वर्ष उत्कृष्ट महिला व्यवस्थापकको सम्मान प्रदान गरिएको थियो। साथै, उद्योग परिसंघ नेपालको पूर्वाधार सम्मेलन–२०२२ तथा टेक पिक नेपाल–२०२४ मा समेत उनी छलफलकर्ताका रूपमा सहभागी भइन्।
थापा प्रभावशाली महिलाको सूचीमा समेत समावेश भएकी छन्। अनलाइनखबरद्वारा प्रदान गरिने सूचना तथा सञ्चार प्रविधि विधातर्फको कर्पोरेट उत्कृष्टता पुरस्कारबाट समेत उनी सम्मानित भइसकेकी छन्।
नेपाल संघ महासंघ को आईटी काउन्सिलको सह अध्यक्ष समेत हुन।
हाल उनी उद्योग परिसंघ युवा उद्यमी मञ्चकी सक्रिय सदस्य तथा नेपाल–स्विट्जरल्यान्ड वाणिज्य तथा उद्योग चेम्बरकी सदस्यका रूपमा समेत क्रियाशील छिन्।
प्रविधि, उद्यमशीलता र महिला सशक्तीकरणलाई एउटै धारमा जोड्दै कर्भिका थापा नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने अभियानमा निरन्तर अग्रसर छिन्।




