बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीकी अध्यक्ष तथा प्रदेश सह–संयोजक सुशीला पुलामी मगरले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको आरोप लगाउँदै पार्टी परित्याग गरेकी छन्।
उनले पार्टीको हालको कार्यशैली र निर्णय प्रक्रिया श्रम संस्कृति र सामूहिक नेतृत्वको भावना विपरीत भएको भन्दै अब स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
मगरले पार्टीभित्र लामो समयदेखि व्यक्तिकेन्द्रित निर्णय, असहमतिको कदर नहुने अवस्था र श्रमजीवी वर्गका मुद्दा ओझेलमा पर्दै गएको अनुभव भएको बताइन्। यस्तो अवस्थाले राजनीतिक उद्देश्यभन्दा पद र स्वार्थ हाबी भएको संकेत गरेको भन्दै उनले पार्टीसँगको सम्बन्ध तोड्ने निर्णय लिएको जनाएकी छन्।
उनी यसअघि नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी थिइन्। स्वतन्त्र उम्मेदवारीमार्फत जनताका वास्तविक समस्या र श्रमजीवी वर्गका मुद्दालाई प्राथमिकताका साथ उठाउने उनको भनाइ छ।




