लवकुमार अधिकारी
प्यूठान ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा अनुभवी नेतासँगै नयाँ नेता चुनावी मैदानमा उत्रेका छन् । पूराना दलका अनुभवी खेलाडीसँगै नयाँ दल र उम्मेदवारको प्रवेशले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससहित पाँच दली गठबन्धन थियो । त्यो गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल मैदानमा थिइन् । पाँच दलीय दरिलो गठबन्धनलाई एमालेका उम्मेदवार सूर्य थापाले पराजित गरेका थिए । कांग्रेसको असन्तुष्टिमा खेल्दै जित निकालेका थापा अहिले पनि चुनावी मैदानमा छन् । उनले जित्ने योजनाका साथ एमालेको मत जोगाउँदै अन्य दलको अन्तरविरोधमा खेल्दै अघि बढेका छन् । यसपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेललाई उम्मेदवार बनाएको छ । पार्टीभित्रको अन्तरविरोध व्यवस्थापन गर्दै चुनावी नतिजा हात पार्न उनले मिहिनेत गरिरहेका छन् । कांग्रेसमा शेखर कोइराला निकट मानिने पोखरेललाई गत वर्ष एमाले उम्मेदवार थापालाई सहयोग गरेको आरोप लागेको थियो । त्यो आरोपलाई चिर्दै उनी कार्यकर्ता र मतदातासमक्ष पुगिरहेका छन् ।
२०७९ को चुनावमा एमाले उम्मेदवार थापाले ४१ हजार १ सय १८ मत प्राप्त गरेका थिए । अहिले पनि जित हात पार्ने उनको दाउ छ । उनले भने–‘मेरो कुनै दलसँग प्रतिस्पर्धा छैन, मलाई जनताको अपार विश्वास र माया छ ।’ २०७४ को चुनावमा वाम गठबन्धनकी दुर्गा पौडेल विजयी भएकी थिइन् । उनले ४७ हजार ५ सय १४ मत ल्याएकी थिइन् । कांग्रेसका डा. पोखरेलले ३१ हजार २ सय ८६ मत प्राप्त गरेका थिए ।
कांग्रेस उम्मेदवार पोखरेलले युवा आकांक्षा पूरा गर्ने र निराशा चिरेर आशा जगाउने गरी चुनावी मैदानमा उत्रेको बताए । ‘हामीले धेरै सुधार गरेर अघि बढ्नुछ । शासकीय सुधार र नीतिगत सुधार गरी समाजमा आशा जगाउन सक्दा मात्रै लोकतन्त्रप्रति विश्वास जगाउन सकिन्छ ।’–उनले भने ।
राष्ट्रिय जनमोर्चाबाट २०७४ सालको स्थानीय तह झिमरूक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका तिलक जिसी यसपटक प्रतिनिधिसभामा पुग्ने लक्ष्यसहित प्रतिस्पर्धामा उभिएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ जनमोर्चाले ९ हजार ९ सय ५९ मत प्राप्त गरी जिल्लाको चौथो दल बनेको थियो । २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति यात्रा सुरु गरेको हुँदा जेनजी आन्दोलनबाट उठेका बेथिति र भ्रष्टाचार अन्त्यको लागि उम्मेदवारी दिएको जिसी बताउँछन् । २०७० मा तत्कालिन नेकपा माओवादीबाट कृष्णध्वज खड्का प्रतिनिधिसभा चुनावमा पराजय भए पनि २०७४ मा बाम गठबन्धनबाट प्यूठान क्षेत्र नम्बर १ मा २७ हजार ९ सय १० मत प्राप्त गरी विजयी बनेका थिए । लुम्बिनी प्रदेशको अर्थमन्त्री समेत बनेका खड्का यतिबेला प्रतिनिधिसभा सदस्यको लागि पुनः मैदानमा उत्रिएका छन् । ‘जेनजी आन्दोलनबाट त्यस्ता केही नयाँ अपेक्षाहरू छन्, सुशासन, भ्रष्टाचारमुक्त र रोजगारीका निम्ति जुन आवाज उठाएका छन्, मुख्यतः यी कुरालाई पुरा गर्ने उद्देश्यले मैले उम्मेदवारी दिएको छु ।’–उनले भने ।
अघिल्लो निर्वाचनमा समानुपातिक मतको आधारमा जिल्लामा छोटो समयमै पाँचौ दलका रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो पटक संघीय निर्वाचनमा सहभागी हुँदैछ । रास्वपाले ०७९ मा समानुपातिकतर्फ ५ हजार ८ सय ५१ मत प्राप्त गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार कृष्ण पोखरेलले ३ हजार ३ सय ११ मत प्राप्त गरेका थिए । यसपटक रास्वपाले नयाँ अनुहारका रूपमा शुसान्त वैदिकलाई चुनावी मैदानमा उतारेको छ । वैदिकले लुम्बिनी प्रदेशको अर्थविज्ञका रूपमा काम गरेका छन् । चुनावी अभियानमा लागिरिहेका उनले भने–‘राजनीति सुविधा होइन, जिम्मेवारी हो । पद होइन, सेवा हो । जनताको कर जनताकै हितमा प्रयोग होस् । र भ्रष्टाचार, नातावाद र जवाफदेहिता नहुने संस्कारको अन्त्य होस् ।’
यस पटकको प्रतिनिधिसभामा विभिन्न १२ दल र दुई स्वतन्त्र गरी १३ जना चुनावी मैदानमा उत्रिएका १२ जना उम्मेदवारमध्ये १३ जना पुरूष छन् । जसमध्ये १३ पुरूषलाई चुनौती दिँदै तत्कालीन नेकपा माओवादी केन्द्र की केन्द्रीय सदस्य सीता विक (सम्झना) सांसदको दौडमा छिन् । विक नेकपा माओवादीले नेतृत्व गरेको दश वर्षे सशस्त्र जनयुद्धको क्रममा जनमुक्ति सेनाकी बटालियन कमाण्डर थिइन् । यस पटक प्यूठानबाट एक महिला उम्मेदवार उभिएकी छिन् ।
द्वन्द्व, त्याग र राजनीतिक यात्राको लामो अनुभव रहेकाले आफूले संसदमा महिला, दलित र पछाडि पारिएका समुदायको आवाज उठाउने उनी बताउँछिन् ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवार दिएका गोविन्द गिरी यतिबेला सांसद बन्ने दौडमा छन् । करिव ३२ वर्ष नेकपा एमालेमा रहेर जिल्ला सदस्य समेत बनेका गिरि जेनजी आन्दोलनपछि पार्टी परित्याग गरेका थिए । गिरी स्वतन्त्र उम्मेदवार बन्ने घोषणासहित जिल्लाको कुना–कुनामा पुगेका छन् । रूपान्तरण, जनताको जनस्तर र श्रमलाई सम्मान गर्नेको लागि आफ्नो उम्मेदवारी दिएको गिरी बताउँछन् ।
पुराना राजनीतिक अनुहार संगठनात्मक बलसहित मैदानमा छन् भने नयाँ उम्मेदवार परिवर्तन र नयाँ अभ्यासको एजेन्डा लिएर मतदातामाझ पुगेका छन् ।
नौ स्थानीयतह, दुई प्रदेश क्षेत्र र एक संघीय निर्वाचन रहेको प्यूठान जिल्लामा १ लाख ६५ हजार ४ सय ६ कुल मतदाता रहेका छन् । यहाँ १ सय ५८ मतदान स्थल र २ सय ३० मतदान केन्द्र रहेका छन् ।




