परासी
नवलपरासी २ मा नेपाली कांग्रेसको टिकट विवादमा अन्ततः भिमबहादुर थापा (भरत) आधिकारिक उम्मेदवार बनेका छन् ।
थापाले आफू कांग्रेसको आधिकारिक उम्मेदवार भएको कुरा निर्वाचन आयोगबाट पुष्टि भइसकेको अवस्थामा अब थप बहसको अर्थ नभएको बताएका छन् ।
सुनवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले टिकट कसरी आयोभन्दा पनि निर्वाचन आयोगले कसलाई आधिकारिकता दियो भन्ने विषय महत्वपूर्ण हुने बताए । थापाले कांग्रेस लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टी भएको बताउँदै टिकटका लागि हुने दौडधुप सामान्य भएको तर्क गरे । पत्रकारको जिज्ञाषामा उनले आफू रुख र चारतारे झण्डा बोकेको पार्टीको उम्मेदवार भएको भन्दै थप बहसको आवश्यकता नभएको जनाए । उनले आफ्नो उम्मेदवारी जेनजी पुस्ताले चाहेको परिवर्तन र सुशासन कायम गर्ने युवाहरूको नेतृत्व गर्ने तथा युवाहरूलाई विदेश जानबाट रोक्ने, युवाहरूलाई आफ्नै देशमा रोजगार दिने बताए ।
उद्योग वाणिज्य संघ नवलपरासीको जिल्ला अध्यक्ष र सुनवल नगरपालिकाको मेयरको जिम्मेवारी सम्हाल्दा गरेका विकासका बारेमा क्षेत्र नम्बर २ का मतदाताहरु जानकार रहेको उल्लेख गर्दै उनले सोही विकासको आधारमा आफूलाई क्षेत्रका मतदाताले विकासमुखी उम्मेदवारका रुपमा मूल्याङ्कन गर्ने दाबी गरे । उनले सुनवल नगरपालिकाको मेयर हुँदा तलब सुविधा समेत नलिएर आफूले नमूना काम गरेको उल्लेख गर्दै अब संसदसम्म आवाज पु¥याउन पनि आफूलाई जिताउन आह्वान गरे ।
नगरको विकासलाई अगाडि बढाएको मोडललाई क्षेत्र नम्बर २ मा पनि लागु गर्ने प्रतिबद्धता उनले जनाए ।
महेशपुर भन्सारलाई भौतिक पूर्वाधार सम्पन्न गर्दै मिनी सुख्खा बन्दरगाहको रुपमा विकास गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको थापाले बताए । यो क्षेत्रमा दुबैजनाले पार्टीबाट टिकट लिएर उम्मेदवारी दर्ता गरेका थिए । सुरुमा भरत थापाले उम्मेदवारी दर्ता गरेका थिए । पछि देवेन्द्रराज कंडेलले दर्ता गरेका थिए ।
निर्वाचन आयोगले भरत थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको भोलिपल्ट नेपाली कांग्रेसका सभापति गगन थापाले कंडेल पार्टीको आधिकारिक उम्मेदवार भएको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । तर आयोगले सुरुमा उम्मेदवारी दर्ता गरेको आधारमा थापा नै आधिकारिक भएको बताएको छ ।




