भैरहवा ।
रूपन्देही जिल्लाको भैरहवामा अहिले चुनावी अभियानले तीव्रता लिएको छ । रूपन्देहीको क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यहाँ ३६ जनाको उम्मेदवारी छ । जसमा १७ जना स्वतन्त्र रूपमा र १९ जनाले राजनैतिक दलबाट उम्मेदवारी दिएका छन् । भाषणमा समावेशीको कुरा गर्ने दलहरूले भने यहाँ २ जना मात्र महिलालाई उम्मेवार बनाएका छन् । नागरिक उन्मुक्ति पार्टी नेपालबाट नन्दकुमारी थापा र स्वतन्त्रबाट अञ्जना चौधरी थापा मात्रै महिला उम्मेदवार छन् । मुख्य दलहरूकसैले महिलालाई अगाडि सारेका छैनन् ।
उम्मेदवारको अन्तिम नामावली आएपछि उम्मेदवारहरू चुनावी प्रचारको पूर्वतयारीका कामहरू धमाधम गरिरहेका छन् । कार्यकर्ता भेटघाट, निर्वाचन परिचालन समिति निर्माण, आर्थिक सङ्कलनलगायत काममा दल र उम्मेदवारहरू लागेका हुन् ।
मुख्य दलहरूमध्ये नेकपा एमालेबाट बासुदेव घिमिरे चुनावी मैदानमा उत्रेका छन् । तिलोत्तमाको मेयरको रूपमा एक कार्यकाल र रूपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य जितेका उनी अहिले गृह क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।
यस्तै नेपाली कांग्रेस क्षेत्रीय सभापति सुशील गुरूङ पनि उम्मेदवार छन् । विद्यार्थी राजनीतिबाट खारिएर आएका अनुभवी गुरूङ समाजसेवी नेताका रूपमा परिचित छन् । संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र सामुदायिक सेवामा निरन्तर योगदान दिएका उनले शिक्षा, स्वास्थ्यका बारेमा अवगत छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट फैज अहमद खानको उम्मेदवारी छ । २०७४ सालमा स्थानीय निर्वाचनमा सिद्धार्थनगरको नगरप्रमुखको उम्मेदवारी दिएका उनलाई पार्टीले चुनावमा उतारेको छ । स्थानीय र शालिन नेता फैजयस क्षेत्रको विभिन्न योजनाहरू सहित मैदानमा उत्रेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस क्षेत्रमा डा. लेखजंग थापाको उम्मेदवारी छ । डाक्टर समेत रहेका उनले यही क्षेत्रबाट स्वास्थ्य सेवा दिइरहेकै बेला राजनीतिमा प्रवेश गरेका हुन् । न्यरो डमक्टरको रूपमा राम्रो परिचय बनेकोले सुशासन, सामाजिक न्यायका लागि उनले गृह क्षेत्रबाट नै उम्मेदवारी दिएका छन् । यसअघि यहाँ हुने उप–निर्वाचनका लागि पनि उनकै उम्मेदवारी तय भएको थियो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्याप्टेन गौरब बोहराको उम्मेदवारी रहेको छ । पूर्वमन्त्री स्व. दिपक बोहराको जेष्ठ सुपुत्र उनले बुवाको विरासतलाई अगाडि बढाउने कसरत गरिरहेका छन् । उड्डयन क्षेत्रमा ठूलो योगदान दिएका उनले यस क्षेत्रको विकासमा पनि योगदान दिनुपर्छ भनेर निर्वाचनमा होमिएका छन् । २०५६ सालदेखि निरन्तर राप्रपामा आबद्ध रहँदै आएका उनले आफ्नो पेसासँगै पार्टी संगठन जोगाउन स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
यस्तै जनता समाजवादी पार्टी नेपालबाट श्रीनिवास यादव उम्मेदवार छन् । लोसपा र जसपाको एकीकरणपछि यहाँ यादवलाई उम्मेदवार बनाइएको हो । यादव पार्टीका केन्द्रीय सदस्य हुन भने २०७४ सालको निर्वाचनमा रूपन्देही ४ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए ।
यस्तै जनमत पार्टीले यहाँ युवा नेता विशाल गुप्तालाई उम्मेदवार बनाएको छ । नेपाल मजदुर किसान पार्टीले सुग्रिम चाई, राष्ट्रिय जनमोर्चाबाट बद्रे आलम मुसलमान, प्रगतिशील लोकतान्त्रिक पार्टीका गोविन्दप्रसाद काराखेतीको उम्मेदवारी छ ।
यसका अलावा १७ जनाको स्वतन्त्र उम्मेदवारी छ, विगतमा अन्य पार्टीमा रहेका केही उम्मेदवार बागीको रूपमा पनि उम्मेदवारी दिएका छन् ।
अहिले अधिकांश उम्मेदवारहरू मतदाताको घर–घर गएर मनोभाव बुभ्mने प्रयास गरिरहेका छन् । घोषणा पत्र कसरी बनाउने भन्नका लागि पनि उनीहरू जनताको समस्या बुझ्न जरूरी भएकाले आन्तरिक रूपमै घर–घर धाइरहेका छन् । समस्या पहिचान र मुद्दाहरूको पहिचान गरी त्यसलाई सम्बोधन गर्नेगरी घोषणापत्र र प्रतिबद्धतापत्र बनाउने, सम्पर्क कार्यालय स्थापना, कार्यकर्तालाई भेटघाट बनाउने काम भइरहेको छ ।
पार्टीहरूले निर्वाचन परिचालन समिति नै गठन गरी र प्रचारप्रसारको तयारीबारे कार्ययोजना बनाइरहेका छन् । निर्वाचन परिचालन, स्वयंसेवक, आर्थिक सङ्कलन समितिलगयतका सबै खाले आन्तरिक तयारी पूरा गरेर प्रचारमा लाग्ने योजनामा छन् ।
कुनै कुनै पार्टीबाट बागी उम्मेदवार पनि उठेकाले ति उम्मेदवारी र स्वतन्त्रलाई कसरी लैजाने भन्नेमा पनि कसरत भइरहेको छ ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई राप्रपाका उम्मेदवार दीपक बोहराले पराजित गरेका थिए ।
बोहराले २०७४ मा पनि कांग्रेससँग र २०७९ मा एमालेसँग तालमेल गरेर निर्वाचन जितेका थिए । बोहोरा ३६,७१७ मत ल्याएर विजयी भएका थिए । खाँणले ३४,०३६ मत प्राप्त गरेका थिए । सांसद बोहोराको २०८१ चैत १९ गते निधन भएपछि यहाँ रिक्त भयो । २०७९ को समानुपातिकतर्फ यस क्षेत्रमा कांग्रेसले २०,२७८, एमालेले १६,९८६ र रास्वपाले १४,१५४ मत पाएका थिए । प्रत्यक्षतर्फ जितेको राप्रपाले समानुपातिकमा ९,१८३ मत प्राप्त गरेको थियो ।
५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा अगामी निर्वाचनका लागि ६ लाख ७२ हजार ५ सय २३ मतदाता छन् । जसमा रूपन्देही ३ बाट १ लाख ४० हजार ३५ जना रहेका छन् । ४६ वटा मतदान स्थल रहेको यहाँँ १ सय ५७ वटा मतदान केन्द्र रहेका छन् । यो निर्वाचन क्षेत्रमा ओमसतियाको २, तिलोत्तमाको १३ र १४ बुटवलको १४ देखि १९, मायादेवीको ७ र ८, शुद्धोधनको १ देखि ७, सिद्धार्थनगरको १ देखि १३ र सियारीको १,२,३,६,र ७ वडा पर्छन् ।




