बुटवल। पूर्वी रुकुमबाट नेपाली कांग्रेसकी उम्मेदवार कुसुम थापा मगरले जिल्लामा ८० देखि ८२ प्रतिशतसम्म मगर समुदायको बाहुल्यता रहेको उल्लेख गर्दै आफू सोही भूगोल र समुदायबाट आएको उम्मेदवार भएकाले आफ्नो जितको आधार बलियो रहेको दाबी गरेकि छन ।
उनले विगतमा माओवादीले मगर समुदायलाई राजनीतिक रूपमा प्रयोग गरे पनि उनीहरूको आवश्यकता र अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाइन । उनले आफ्नो मुख्य प्रतिस्पर्धी पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रति कडा आलोचना गरिन ।
प्रचण्ड तीन पटक प्रधानमन्त्री भए पनि आफ्नो ‘आधार इलाका’ मानिने रुकुमको विकासमा पर्याप्त ध्यान नदिएको, सहिद तथा घाइते परिवारलाई उपेक्षा गरिएको उनको भनाइ छ।
साथै, रोल्पा, सिराहा र चितवनजस्ता क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा अहिले प्रचण्डप्रति जनताको आकर्षण घट्दै गएको दाबी गरिन । विकासका एजेन्डाबारे बोल्दै थापा मगरले सडक र पुलजस्ता परम्परागत पूर्वाधारसँगै ‘नलेज इकोनोमी’ को अवधारणा अघि सार्नुपर्ने आवश्यकता औँल्याइन ।
उनले पूर्वी रुकुमका युवालाई एआई र आईटीसम्बन्धी तालिम प्रदान गरी गाउँमै बसेर अन्तर्राष्ट्रिय बजारमा काम गर्ने अवसर सिर्जना गर्ने योजना सुनाउनुभयो। साथै, पर्यटन प्रवर्द्धन र सडक नपुगेका ९ वटा वडामा पहुँच विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन ।
पार्टीको आन्तरिक राजनीतिबारे बोल्दै उनले नेपाली कांग्रेस अब परिवर्तनको चरणमा रहेको र गगन थापाको नेतृत्वमा नीति र नेतृत्व दुवै बदलिएको बताइन । गगन थापा प्रधानमन्त्री बने देशमा सकारात्मक परिवर्तन आउने उनको विश्वास छ।
थापा मगरले यसअघि समानुपातिक सांसद तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको रूपमा काम गर्दा जलवायु परिवर्तनका विषयमा आठ देशका सांसदहरूको भेला गराई नीतिगत पहल गरेको आफ्नो अनुभव पनि सुनाइन ।




