रुकुम पूर्व । रुकुम पूर्वमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचन प्रतिस्पर्धा गरेकी उम्मेदवार कुसुम थापाले घरदैलो अभियानलाई तीव्र बनाएकी छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै उनी गाउँ–गाउँ, टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेकी हुन्।
घरदैलो अभियानका क्रममा थापाले प्रचण्डले लामो समय रुकुमको प्रतिनिधित्व गरे पनि जिल्लाको समग्र विकासमा ठोस काम गर्न नसकेको आरोप लगाइन्। “रुकुमको नाममा धेरै राजनीति भयो, तर जनताले अपेक्षा गरेको विकास देखिएन,” भन्दै उनले सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा जिल्लावासी अझै पछाडि परेको बताइन्।

थापाले रुकुम पूर्वका जनताले अब पुरानै अनुहार र पुरानै आश्वासनभन्दा फरक विकल्प खोजिरहेको दाबी गरिन्। “जनताले परिवर्तन चाहेका छन्, र त्यो परिवर्तनको विकल्प म आफैं हुँ,” भन्दै उनले आफू निर्विकल्प उम्मेदवार भएको घोषणा गरिन्।
घरदैलोका क्रममा स्थानीयवासीसँगको संवादमा उनले जनताको दैनिक समस्या, युवा पलायन, कृषकका समस्या र आधारभूत सेवाको अभावलाई मुख्य मुद्दा बनाएकी छन्। रुकुममा पर्याप्त बजेट आए पनि त्यसको सही उपयोग हुन नसकेको भन्दै उनले पारदर्शी र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गरिन्।
स्थानीय मतदातासँग भेटघाट गर्दै थापाले आफू निर्वाचित भए रुकुम पूर्वको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “अब भाषण होइन, काम गर्ने नेतृत्व चाहिन्छ,” भन्दै उनले जनताको मत र समर्थनको अपिल गरिन्।
यसैबीच, कुसुम थापाको घरदैलो अभियानमा स्थानीय युवाहरू र महिलाको उल्लेखनीय सहभागिता देखिएको छ। समर्थकहरूका अनुसार जनतामा उत्साह बढ्दै गएको र प्रतिस्पर्धा रोचक बन्दै गएको छ।
रुकुम पूर्वमा प्रचण्ड र थापाबीचको चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा दुबै पक्ष आ–आफ्ना दाबी र आरोप–प्रत्यारोपसहित मैदानमा उत्रिएका छन्। आगामी निर्वाचनले रुकुम पूर्वको राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासो बढेको छ।




