रुकुम पूर्व। नेपाली कांग्रेस की नेतृ कुसुम थापा ले रुकुम पूर्वको भूमे गाउँपालिका–९ चुनवाङका द्वन्द्व पीडित परिवारप्रति ऐक्यबद्धता जनाएकी छन्। उनले बल बहादुर पुनको परिवारसँग भेटघाट गर्दै राज्यले द्वन्द्व पीडितको पीडा सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताइन्।
बल बहादुर पुनका बाजे नदिराम पुन र बुबा जित बहादुर पुनको २०५४ साल जेठ र असार महिनामा महिना दिनको फरकमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कार्यकर्ताबाट हत्या गरिएको परिवारले जनाएको छ। उक्त घटनापछि परिवार आर्थिक, सामाजिक र मानसिक रूपमा ठूलो संकटमा परेको स्थानीयले बताएका छन्।
पीडित परिवारको हालको अवस्था नाजुक रहेको उल्लेख गर्दै नेतृ थापाले द्वन्द्वका घाउ अझै निको नभएको बताइन्। “द्वन्द्वका नाममा निर्दोष नागरिकमाथि भएको ज्यादतीको सत्यतथ्य बाहिर आउनुपर्छ, र पीडित परिवारले न्याय र उचित क्षतिपूर्ति पाउनुपर्छ,” उनले भनिन्।
उनले रुकुम पूर्वका अधिकांश बस्ती मगर समुदायको रहेको उल्लेख गर्दै समुदायको सम्मान र अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताइन्। “मगर समुदायले सधैं न्याय र स्थायित्वको पक्षमा मत दिने विश्वास लिएका छन्,” उनले दाबी गरिन्।
स्थानीयस्तरमा भेटघाट तथा छलफललाई निरन्तरता दिँदै नेतृ थापाले द्वन्द्व पीडित परिवारको पुनर्स्थापना, रोजगारी तथा शिक्षा–स्वास्थ्यमा पहुँच विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
थापाकाे सक्रियताले नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दहाल प्रचण्डमाथी निरन्तर दबाब सिर्जना भइरहेकाे छ ।




