बुटवल । रुकुम पूर्वमा नेकपा परित्याग गर्दै युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेकपा छोड्नेहरूमा कर्मफल बुढा मगर, पिछाराज बुढा, नविना पुन, बर्जित बि.क., बादल बुढा मगर, कर्मफल (गोपाल बुढा मगर), जगतमान बुढा लगायत डेढ दर्जन रहेका छन्। उनीहरूलाई नेपाली कांग्रेसका उम्मेद्वार कुसुमदेबी थापाले एक कार्यक्रमबीच पार्टी प्रवेश गराएकी हुन्। कार्यक्रममा कांग्रेसका जिल्ला तहका नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले युवाशक्तिको साथले कांग्रेस थप सशक्त बन्ने बताइन्। उनले विकास, रोजगारी र सुशासनका एजेन्डामा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिन्।
राजनीतिक विश्लेषकहरूका अनुसार जेन–जी पुस्ताको नेकपा त्याग गरी कांग्रेस रोज्नुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजनीतिक रूपमा धक्का पुग्ने संकेत गरेको छ। विशेषगरी युवापुस्तामाझ समर्थन घट्दै जानु नेकपाका लागि चुनौतीपूर्ण बन्न सक्ने आकलन गरिएको छ।
स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई आगामी निर्वाचनको संकेतका रूपमा समेत हेरिएको छ।




