बुटवल
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको मत विवरण हेर्दा तराई तथा भित्री तराईका जिल्लामा बदर मतको संख्या उल्लेखनीय रूपमा बढी देखिएको छ भने पहाडी जिल्लामा तुलनात्मक रूपमा कम रहेको तथ्यांकले देखाएको छ । मतदाताको संख्या धेरै भएका जिल्लामा बदर मतको संख्या पनि उच्च देखिएको हो ।
प्रदेश निर्वाचन कार्यालय दाङका प्रवक्ता गेहेन्द्र कुँवरकाअनुसार तुलनात्मक रुपमा तराईका जिल्लाहरुमा बदर मत बढी देखिएको जानकारी गराए । प्रदेशका २१ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ खसेको २० लाख ४३ हजार ६३४ मतमध्ये १ लाख २ हजार ९५६ मत बदर भएको उनले जानकारी दिए । उनका अनुसार १९ लाख ४० हजार ६७८ मत सदर भएको छ ।
निर्वाचन कार्यालय लुम्बिनी प्रदेश कार्यालय दाङले दिएको जानकारी अनुसार रुपन्देहीमा सबैभन्दा बढी २२ हजार ३५ बदर मत परेको छ । रुपन्देहीमा कुल ४ लाख ३८ हजार ३२५ सदर मत रहेको छ, जुन सूचीमा सबैभन्दा धेरै मतदाता भएको जिल्ला पनि हो । त्यसपछि कपिलवस्तुमा १ लाख ७२ हजार १८ सदर मतमध्ये १६ हजार ७८४ मत बदर भएको देखिन्छ ।
बाँकेमा २ लाख २१ हजार ३०९ सदर मत रहेकोमा १३ हजार ४४२ मत बदर भएको छ भने बर्दियामा १ लाख ९५ हजार १०७ सदर मतमध्ये १० हजार ३६८ मत बदर भएको छ । त्यसैगरी नवलपरासीमा १ लाख ७० हजार २२२ सदर मतमध्ये १० हजार ४७७ मत बदर भएको छ ।
दाङमा पनि बदर मतको संख्या उल्लेखनीय देखिएको छ । दाङमा २ लाख ५१ हजार ३६८ सदर मतमध्ये १० हजार ६९८ मत बदर भएको तथ्यांकले देखाएको छ । यी जिल्लाहरू तराई तथा भित्री तराई क्षेत्रमा पर्ने भएकाले यहाँ मतदाता संख्या धेरै भएको र त्यसैको अनुपातमा बदर मत पनि बढी देखिएको विश्लेषकहरू बताउँछन् ।
रूकुम पूर्वमा सबैभन्दा कम बदर
सबैभन्दा कम बदर मत रुकुममा देखिएको छ । रुकुममा १८ हजार ८०९ सदर मत रहेकोमा ५६३ मत मात्रै बदर भएको छ । यहाँ नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् ।
पहाडी जिल्लामा कम
यसको विपरीत पहाडी जिल्लाहरूमा भने बदर मतको संख्या तुलनात्मक रूपमा कम देखिएको छ । गुल्मीमा १ लाख १९ हजार २३ सदर मतमध्ये ४ हजार १४० मत बदर भएको छ भने पाल्पामा १ लाख १४ हजार ७६२ सदर मतमध्ये ४ हजार ७९८ मत बदर भएको छ ।
अर्घाखाँचीमा ८६ हजार ५२६ सदर मतमध्ये ३ हजार २२० मत बदर भएको छ । रोल्पामा ६८ हजार ७७६ सदर मतमध्ये ३ हजार १४४ मत बदर भएको छ भने प्यूठानमा ८४ हजार ४३३ सदर मतमध्ये ३ हजार २८७ मत बदर भएको देखिन्छ ।
मतदाता शिक्षाको कमी
मतदाता शिक्षा, मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नहुनु, मतपत्रमा सही तरिकाले मतदान नगर्नुलगायतका कारणले बदर मतको संख्या बढ्ने गर्छ । आगामी निर्वाचनहरूमा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन सके बदर मत घटाउन सकिने भए पनि दल तथा निर्वाचन आयोगले सोहीअनुसार गर्न नसक्दा बदर मत ठुलो संख्यामा आएको हो ।
मतगणनाका क्रममा हेर्दा नेकपा एमालेको चुनाव चिन्ह सूर्य या नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेकाहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गरेको देखिएको मतगणनामा सहभागी एक कर्मचारीले बताए । रुपन्देहीका अधिकांश बदर मतहरु सोही प्रकारका देखिएको उनले जनाए ।




