पाल्पा
नेकपा एमाले तानसेन नगर कमिटीसहित १४ वटै वडा कमिटी विघटन भएको छ । पार्टीका उम्मेदवार ठाकुरप्रसाद गैरेले फागुन २१ गतेको निर्वाचनमा पराजय भएपछि समीक्षा गर्न बसेको पहिलो बैठकले नै एमाले नगर कमिटीसहित १४ वटै वडा कमिटी भंग गरेको हो ।
पार्टी कमिटीभित्र व्यापक रुपमा सुधार गर्दै युवाहरुको सहभागिता सक्रियतामा पार्टीलाई पुनः जनताबिच स्थापित गराउने उद्देश्यका साथ तानसेन नगरका सबै कमिटीहरु विघटन गरिएको विघटित एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले बताए ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम सोंचे अनुरूप नआएपछि मंगलबार बसेको समीक्षा बैठकले हालको संरचनाबाट पार्टीलाई गति दिन नसकिने निष्कर्ष निकाल्दै यस्तो कठोर कदम चालेको विघटित कमिटीका अध्यक्ष आत्रेयले बताए । अहिलेका कमिटीहरू विघटन गरिए पनि नयाँ संरचना नबन्दासम्म पुरानै टोलीले कार्यवाहकका रूपमा काम गर्ने, अब कार्यकर्ताको भावनाअनुसार चुस्त, दुरुस्त सक्रिय कमिटीहरू गठन हुने आत्रेयले बताए ।
तानसेन नगर कमिटीको विघटन तानसेन नगरपालिकामा एमालेको हारको प्रतिक्रिया मात्र नभई माथिल्लो कमिटीहरुलाई पुनरसंरचनाको लागी दबाब सिर्जना गर्न आफ्नै अध्यक्षतामा भएको तानसेन नगर कमिटी विघटन गरिएको नगरका काम चलाउ अध्यक्ष आत्रेयले बताए । अहिलेको केन्द्रीय नेतृत्व र कार्यशैली परिवर्तन नभएसम्म पार्टी अगाडि बढ्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो, यो निर्णय जिल्ला र केन्द्रलाई दबाब दिनका लागि पनि लिइएको आत्रेयले प्रष्ट भाषामा जनाए ।
कमिटीमा पाका पुस्ता सल्लाहकार, युवालाई नेतृत्व
समीक्षा बैठकमा सहभागी तानसेन नगर कमिटीका अधिकांश सदस्यहरुले सक्रिय राजनीति गर्ने उमेर हद कायम राखी पाका पुस्तालाई सल्लाहकार, युवा पुस्तालाई नेतृत्व दिएर पार्टी पुनरसंरचना गर्नुपर्नेमा जोड दिएका छन् । अब बन्ने कमिटीहरुमा युवा पुस्ताको नेतृत्व र बहुमत हुनुपर्नेमा समीक्षा बैठकमा सहभागीहरुले जोड दिए ।
३ महिनाभित्र वडा अधिवेशन, जेठ ३ गते तानसेन नगर कमिटीको अधिवेशन
नेकपा एमालेका केन्द्रीय सदस्य एवं पाल्पा इञ्चार्ज ठाकुरप्रसाद गैरेको सहभागितामा बसेको तानसेन नगर कमिटीको निर्वाचन समीक्षा बैठकले ३ महिनाभित्र १४ वटै वडा अधिवेशन, जेठ ३ गते तानसेन नगर कमिटीको अधिवेशन गर्ने घोषणा गरेको छ ।
अघिल्लो निर्वाचन २०७९ मा तानसेन नगरपालिकामा ९ हजार मत आएको थियो, अहिलेको निर्वाचनमा ७ हजार मतको आशा गरे पनि ३ हजार ८ सय मत एमालेलाई आएकोले पनि कमिटी पुनरसंरचनाको लागि पनि कमिटी भंग गरिएको तानसेन नगर तदर्थ कमिटीका अध्यक्ष आत्रेयको दाबी रहेको छ ।
चुनावी समीक्षा बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य ठाकुरप्रसाद गैरेले पाल्पामा पार्टीको मत घट्नुमा जिल्ला तहको कमजोरीभन्दा पनि बदलिँदो राष्ट्रिय राजनीतिक माहौल र जनमतको बदलिँदो प्राथमिकतालाई मुख्य कारण रहेको बताए । पाल्पा क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य गैरेले प्रतिकूल परिस्थितिमा पनि एक पटकको हारबाट जनता तथा कार्यकर्ताहरु निराश हुनु पर्दैन, जनताको सेवा गर्न सधैँ पदमै हुनुपर्छ भन्ने छैन, निरन्तरको सेवाले फेरि जनताको मन र मत दुवै जित्न सकिने बताए ।
एमाले तानसेन नगर कमिटी ७० सदस्यीय रहेको छ । नगरका प्रत्येक वडा कमिटीमा ५० जना सम्म सक्रिय कार्यकर्ता छन्, यसरी १४ वटा वडामा मात्र ७०० जना र नगरका ७० जना गरी ७७० जना कार्यकर्ताहरु तानसेन नगर कमिटीमा कमिटी आबद्ध छन् । कमिटीमा रहेका अधिकांश व्यक्तिहरु अधिवेशनको दिन मरिहत्ते गरेर पद लिने, पद पाएपछि सिन्को नभाच्ने, आफ्नो स्वास्थ्यको लागि पद भजाउने कार्यकर्ताको बाहुल्यता बढी छ । अझै पनि एमाले कार्यकर्ताले पार्टी सुध्रियोस, जनताको भावना अनुसार काम गरोस, नातावाद, कृपावादमा नफसोस, कानुनको बराबरी पालना गरोस भनी चाहाना राखेका छन् ।
कार्यकर्ताले मत परिवर्तन गरे पनि पार्टी परिवर्तन गरेका छैनन् । खुलेर अन्य पार्टीको सदस्यता त लिएका छैनन् । त्यसैले एमाले कार्यकर्ताले सुध्रिएको एमाले हेर्न चाहेका छन् ।




