भैरहवा
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न महासंघको आठौँ प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठले कपिलवस्तुको चन्द्रौटाका जमसेर अलि मियाँलाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । कुल खसेको मतमध्ये एसोसिएटतर्फ श्रेष्ठले ९६ मत पाउँदा मियाँले ६ मत मात्र प्राप्त गरे भने जिल्ला– नगरतर्फ खसेको ३३ मतमध्ये श्रेष्ठले २१ र मियाँले १२ मत प्राप्त गरे । वस्तुगततर्फको एक मात्र मत पनि श्रेष्ठकै पक्षमा पर्यो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष समेत हुन् ।
निर्वाचन समितिका अधिकृत धर्मबहादुर खड्काका अनुसार महासंघको पदाधिकारी तथा सदस्यहरुमा अधिकांश निर्विरोध निर्वाचित भएका छन्, जसमा जिल्ला– नगर उपाध्यक्षमा टंकसिंह बुढाथोकी (दाङ), एशोसिएट उपाध्यक्षमा राजु महर्जन (पाल्पा) र कोषाध्यक्षमा लेखनाथ न्यौपाने (नवलपरासी) निर्वाचित रहेका छन् । सदस्यहरुमा बद्रीनाथ बराल (बर्दिया), माधवराज भण्डारी (प्यूठान), सौरभ अग्रवाल (रुपन्देही) र युवराज पोखरेल (लमही) निर्विरोध चुनिएको बताए । ११ सदस्यीय रहने यस समितिमा एकजना महिलासहित दुईजना सदस्य भने पछि मनोनित गरिने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासंघलाई अझ बलियो बनाउँदै व्यावसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र केवल नाफामुखी समूह नभई रोजगारी सिर्जना, राजस्व संकलन र पूर्वाधार विकासको प्रमुख साझेदार रहेको बताउँदै शिक्षण संस्थालाई ‘शान्ति क्षेत्र’ घोषणा गरिएजस्तै निजी क्षेत्रलाई पनि निर्वाध रुपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
उनले पुराना कानुन, नीतिगत अस्पष्टता तथा नियामक निकायको दबाबका कारण व्यवसायीहरु असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै सरकारले अघि सारेको ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन योजना’लाई स्वागतयोग्य कदम बताए ।
यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निर्वाचनपछि सबै व्यवसायी एउटै लक्ष्यका लागि एकजुट हुनुपर्ने र भ्रष्टाचारसम्बन्धी छानबिनको समर्थन गर्दै निजी क्षेत्रलाई अनावश्यक नोक्सानी पु¥याउने कामविरुद्ध एकता आवश्यक रहेको धारणा राखे ।
लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष कृष्णप्रसाद शर्माले आर्थिक मन्दी, उच्च ब्याजदर र तरलता अभावका कारण व्यवसायीहरु मारमा परेको भन्दै ऋणको सावाँ–ब्याज भुक्तानीमा समय थप गर्न सरकारसँग माग गरे । महासंघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, भैरहवा र नेपालगन्जका एकीकृत जाँच चौकी शीघ्र सम्पन्न गर्नुपर्ने तथा मोतीपुर, नौबस्ता, विशेष आर्थिक क्षेत्र र तिनाउ–दानव औद्योगिक करिडोरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेको छ । साथै, लुम्बिनी सर्किट, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनमा पनि जोड दिइएको छ । कार्यक्रममा महासंघका उपाध्यक्षहरु हेमराज ढकाल, दिलसुन्दर श्रेष्ठ, सुरकृष्ण वैधलगायतले सरकार र निजी क्षेत्रबीचको विश्वासले मात्रै देशको आर्थिक विकास सम्भव हुने बताएका थिए ।
शर्माको महासंघका उपाध्यक्ष पदमा उम्मेदवारी
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा देशका पश्चिम क्षेत्रका व्यवसायीहरूको प्रतिनिधित्व कमजोर रहेको भन्दै अबको नेतृत्वले यसलाई सम्बोधन गर्नुपर्ने निर्वातमान भएका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताएका छन् । व्यवसायी प्रतिनिधिले नारायणी, बागमतीदेखि सुदूरपश्चिमसम्मको भूगोलबाट महासंघको पदाधिकारी तहमा अहिलेसम्म उपाध्यक्ष जस्तो गरिमामय पदमा पहिचान प्राप्त हुन नसकेकोमा अबको नेतृत्वले यसलाई सम्बोधन गर्नुपर्ने बताए ।
उनले सीमावर्ती क्षेत्रका व्यवसायीहरू अवैध व्यापारका कारण धराशायी बनेको र व्यवसायमा सन्तुष्टि प्राप्त गर्न नसकेको, पहाडी जिल्लाका उद्योग वाणिज्य संघहरूमा स्रोत र साधनको ठूलो अभाव रहेको, वर्तमान आर्थिक अवस्था र व्यावसायिक वातावरण सुधारका लागि पुराना ऐन तथा नीतिहरू परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउदै अबको नेतृत्वका लागि आफु दाबेदार रहेको बताए ।




