भैरहवा
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उप–निर्देशक जीवन प्रकाश पाण्डेले सम्पत्ति शुद्धीकरणका नियम पालना नगरे नेपाल ब्ल्याक लिस्टमा पर्न सक्ने जोखिम रहेको बताएका छन् ।
लुम्बिनी मनी चेन्जर व्यवसायी संघको १०औँ वार्षिक साधारणसभा तथा ५औँ अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले नेपाल राष्ट्र बैंकले नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक जगतमा ‘ब्ल्याक लिस्ट’ (कालो सूची) मा पर्नबाट जोगाउन सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमहरूको पूर्ण पालना गर्न मनी चेन्जर व्यवसायीहरूलाई आग्रह गरे ।
उनले मनी चेन्जर व्यवसायीहरुको साथ र सहयोग गरेकोमा कडाइका साथ काम गर्न अनुरोध गर्दै नेपाल हाल वित्तीय कारबाही कार्यदल हरियो सूचीमा रहेको जानकारी दिँदै यो अवस्था चुनौतीपूर्ण रहेकोले यदि हामीले सम्पत्ति शुद्धीकरणको मामिलामा कडाइ गरेनौँ भने मुलुक ब्ल्याक लिस्टमा पुग्ने खतरा रहेको बताए ।
‘राज्यले अहिले सबै क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणका लागि नीतिगत कडाइ गरेको छ, जसमा मनी चेन्जर व्यवसायीहरूको भूमिका अत्यन्तै संवेदनशील र महत्वपूर्ण रहेको छ ।’–उनले भने ।
‘राष्ट्र बैंकले मनी चेन्जरहरूलाई ५ लाख रुपैयाँभन्दा माथिको कारोबारमा विशेष सतर्कता अपनाउन र रिपोटिङ प्रणालीलाई चुस्त बनाउन आग्रह गरेको छ । यो निर्देशन तपाईँहरूलाई मात्र होइन, सुनचाँदी र सहकारीलगायत सबै क्षेत्रमा लागू गरिएको छ । राज्यको यो अभियानमा सहयोग गर्नु सबै नागरिक र संघसंस्थाहरूको कर्तव्य हो ।’–उप–निर्देशक पाण्डेले भने ।
राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका अधिकारीहरूले व्यवसायीहरूलाई आवश्यक तालिम र सहजीकरण गर्न आफूहरू तयार रहेको उनले बताए । ‘इजाजत लिएकाहरूको हकमा हामी बोल्छौँ, उनीहरूको समस्या समाधानका लागि पहल गर्छौँ ।’–उनले भने ।
लुम्बिनी मनी चेन्जर व्यवसायी संघले स्थापना कालदेखि हालसम्म खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी कार्यसमितिले निजी क्षेत्रका अन्य छाता संगठनहरूसँग मिलेर अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
आधिकारिक व्यवसायीहरूले बिचौलियाका कारण स्वस्थ प्रतिस्पर्धा गर्न नपाएको र राज्यको अनुगमन प्रणालीमा विभेद रहेको बताउँदै पछिल्लो समय डिजिटल पेमेन्टका कारण मनी चेन्जर व्यवसाय संकुचित हुँदै गएको र सुरक्षाको समेत चुनौती थपिएको उनीहरूले बताए ।
लुम्बिनी मनी चेन्जर व्यवसायी संघका प्रतिनिधिहरूले सीमा क्षेत्रमा भारतीय मुद्राको सटहीमा देखिएको व्यवहारिक समस्याबारे बैंकको ध्यानाकर्षण गराए ।
नेपाल आउने ९५ प्रतिशत भारतीय पर्यटकले ५०० र २०० का नोट बोक्ने तर नेपालमा ती नोटहरू साट्न कानुनी जटिलता हुँदा पर्यटकहरूले दुःख पाउने गरेको र यदि राष्ट्र बैंकले ५०० र २०० का भारतीय नोटलाई वैधानिक रूपमा सहजीकरण गरिदिएमा पर्यटन क्षेत्रमा ठुलो क्रान्ति आउन सक्ने व्यवसायीहरूको भनाइ छ । पर्यटकसँग कतिपय अवस्थामा आधिकारिक परिचयपत्र नहुने, तर सेवा दिनुपर्ने बाध्यताले व्यवसायीहरूलाई स्रोत पहिचान को कानुनी जोखिममा पारेकोतर्फ पनि सचेत हुन जरुरी रहेको व्यवसायीहरुको बताएका छन् ।
अध्यक्षमा पंकज उदास निर्वाचित
लुम्बिनी मनि चेन्जर व्यवसायी संघको १०औं साधारण सभा एवं ५औं अधिवेशनले पंकज उदासको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा नवराज जोशी र बासुदेव खनाल चयन भएका छन्, यस्तै सचिवमा इरफान वारिस, सह–सचिवमा राजीव उदास र कोषाध्यक्षमा लोकनाथ ज्ञवाली निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा टीका देवी न्योपाने, बसन्त पोखरेल, अवध किशोर अग्रवाल, आफताब अंसारी, यदुनाथ लम्साल, अशोक क्षेत्री र आमना शाह चयन भएका छन् । संघको सल्लाहकार समितिमा विष्णुप्रसाद शर्मा, गोपाल भण्डारी र नरहरि घिमिरेलाई मनोनयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष पंकज उदासले मनि चेन्जर व्यवसायीहरूले भोग्दै आएका नीतिगत समस्याहरू समाधान गर्न र यस क्षेत्रलाई मर्यादित एवं पारदर्शी बनाउन आफ्नो कार्यसमिति सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी क्षेत्रमा आउने पर्यटकहरूलाई सहजीकरण गर्दै विदेशी मुद्रा विनिमय प्रक्रियालाई अझ सहज बनाउन संघले विशेष पहल गर्ने उनको भनाइ छ ।




