काठमाडौं । भारतमा बढ्दो इन्धनको मूल्यका कारण एयरलाइन्स कम्पनीहरू बन्द हुने संघारमा पुगेका भन्दै कम्पनीहरूको संगठनले भारत सरकारसँग गुनासो गरेको छ ।
एभिएसन टर्बाइन फ्युल (एटीएफ) अर्थात् जेट इन्धनको मूल्य तीव्र गतिमा बढेकाले सञ्चालन खर्च अत्यधिक बढेको छ । यसले धेरै रुटहरू घाटामा चलिरहेका छन् । कम्पनीहरू उडान बन्द गर्ने वा कटौती गर्ने स्थितिमा पुगेको समाचारमा उल्लेख छ ।
फेडरेसन अफ इन्डियन एयरलाइन्स (एफआईए)ले नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै सरकारसँग तुरुन्त सहयोग मागेको छ । एफआईएमा एयर इन्डिया, इन्डिगो र स्पाइसजेटजस्ता ठूला एयरलाइन्सहरू आबद्ध छन् ।
हालका दिनहरूमा एटीएफको मूल्य अत्यधिक बढेको छ । यो वृद्धि मुख्यतया पश्चिम एसियामा जारी तनाव र युद्धका कारण भएको हो । विश्वव्यापी रूपमा कच्चा तेलको मूल्य बढ्दा जेट इन्धन पनि महँगो भएको छ । एयरलाइन्सको कुल खर्चमा इन्धनको हिस्सा पहिले ३०–४० प्रतिशत हुन्थ्यो । तर, अहिले यो ५५–६० प्रतिशतसम्म पुगेको बताइएको छ ।
यसले कम्पनीहरूको नाफा घटाएको छ र नगद प्रवाहमा पनि दबाब बढिरहेको छ । अन्तर्राष्ट्रिय उडानहरूको अवस्था अझ खराब भएको उल्लेख छ । एफआईएले स्थिति यस्तै रहे धेरै एयरलाइन्सले उडानहरू कम गर्नुपर्ने, केही रुटहरू बन्द गर्नुपर्ने वा भाडा बढाउनुपर्ने हुन सक्ने चेतावनी दिएको छ ।
एयरलाइन्सहरूले सरकारसँग दुई प्रकारका राहत मागेका छन्, जसमा आन्तरिक उडानमा लाग्ने ११ प्रतिशत अन्तःशुल्क अस्थायी रूपमा हटाउने र राज्यहरूले लगाउने भ्याट कम गर्ने माग समावेश छ, जुन केही स्थानमा २५ प्रतिशतसम्म रहेको बताइएको छ ।




