अर्घाखाँची । अर्घाखाँची जिल्लामै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको शीतगंगा नगरपालिका ले विकास र सुशासनलाई केन्द्रमा राख्दै महत्वाकांक्षी योजना अघि सारेको छ।
भौगोलिक हिसाबले नेपालकै ठूलो नगरपालिका मानिने शीतगंगा नगरपालिकाको १९ औँ नगरसभामा नगर प्रमुख छविलाल पौडेल ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
नगर प्रमुख पौडेलले नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दै नगरको समग्र विकास र नागरिकको जीवनस्तर उकास्ने योजनामा नगरपालिका केन्द्रित रहेको बताउनुभयो। उहाँले सुशासन, पारदर्शिता र उत्तरदायी प्रशासनमार्फत स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत बनाइने धारणा राख्नुभयो।
नगरसभामा प्रस्तुत कार्यक्रमअनुसार शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यालयमा आधुनिक शिक्षण प्रणालीको विस्तार तथा स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने योजना अघि सारिएको छ। कृषिलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उद्देश्यले आधुनिक प्रविधिको प्रयोग, उत्पादन वृद्धि तथा कृषक प्रोत्साहनका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको जनाइएको छ।
त्यसैगरी सडक स्तरोन्नति, खानेपानी विस्तार, सिंचाइ तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने नीति लिइएको छ। ग्रामीण क्षेत्रको पहुँच विस्तारसँगै विकासलाई दिगो र व्यवस्थित बनाउने लक्ष्य नगरपालिकाले अघि सारेको जनाएको छ।
नगरसभामा उपप्रमुख गीता भाट क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, योजना शाखा प्रमुख नुमलाल खनाल, १४ वटै वडाका वडा अध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाले प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरी प्राप्त सुझावका आधारमा आगामी बजेट तथा योजनालाई अन्तिम रूप दिइने जानकारी दिनुभयो।
अर्घाखाँचीका स्थानीय तहहरूमध्ये सबैभन्दा पहिले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शीतगंगा नगरपालिकाले आगामी वर्षको विकास रणनीति सार्वजनिक गरेपछि जिल्लाभर यसको चर्चा सुरु भएको छ।




