काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टी अध्यक्ष सन्तोष परियार नेतृत्वको सचिवालय बैठकले पूर्वप्रधानमन्त्री तथा पार्टीका संरक्षक डा। बाबुराम भट्टराईबारे गरेको निर्णयले थप विवाद निम्त्याएको हो।
सचिवालय बैठकले डा. भट्टराईले पार्टी नेतृत्वप्रति अराजक र स्तरहीन टिप्पणी गरेको निष्कर्ष निकाल्दै उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गरेको थियो।
अध्यक्ष परियारले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू सांगठानिक कार्यहरूमा सहभागी नहुने स्वेच्छिक जानकारी गराएपश्चात् पार्टीले ससम्मान आगामी यात्रा सफलताको शुभकामना दिँइ बिदाइ गरेको थियो। तर आफू संलग्न नरहेको पार्टीको नेतृत्वमाथि अराजक एवं स्तरहित टिप्पणीप्रति हाम्रो पार्टी दुखका साथ उहाँको उक्त टिप्पणीप्रति खेद प्रस्ताव पारित गर्दछ।’
बैठकले उक्त टिप्पणीलाई खारेज गर्ने निर्णय लिएको छ। तर, यो निर्णयपछि बाबुराम पक्ष थप चिढिएका छन्।
प्रलोपाले यसअघि डा। भट्टराईले आफू साङ्गठनिक गतिविधिमा सहभागी नहुने जानकारी दिएपछि पार्टीले उनलाई औपचारिक रूपमा बिदाइ गरेको थियो। तर भट्टराई पक्षले संरक्षक पदबाट बिदाइ हुन नसक्ने तर्क गर्दै आएको छ।
सो निर्णयप्रति असन्तुष्टि जनाउँदै बाबुराम निकट नेता कृष्ण शर्माले प्रलोपाको लेटरप्याडमा सन्तोष परियारको नामबाट जारी गरिएको वक्तव्यले आफूहरूलाई आश्चर्यचकित बनाएको टिप्पणी गरे।
पार्टीका कतिपय पदाधिकारी, विभागीय प्रमुख, आयोग प्रमुख तथा अन्य जिम्मेवार व्यक्तिहरूलाई समेत जानकारी नदिई सीमित व्यक्तिहरूको सहभागितामा सम्पन्न गरिएको भनिएको बैठकको हवाला दिँदै जारी गरिएको उक्त वक्तव्य तथ्यगत रूपमा सङ्गठनात्मक तथा राजनीतिक दृष्टिले औचित्यहीन रहेको उनको भनाइ छ।
उनले भने, ‘उक्त वक्तव्यलाई पार्टीको सर्वस्वीकृत विचार, धारणा वा आधिकारिक लाइनका रूपमा किमार्थ ग्रहण गर्न सकिँदैन। विशेषतः पार्टीका संरक्षक डा। बाबुराम भट्टराईप्रति लक्षित टिप्पणी, दोषारोपण तथा असम्मानजनक शब्दहरू निराधार, राजनीतिक रूपमा अपरिपक्व, निकृष्ट र गैरजिम्मेवार अभिव्यक्तिका रूपमा देखिएका छन्।’
पार्टीभित्र वैचारिक मतभिन्नता स्वाभाविक रूपमा हुन सक्ने उनको भनाइ छ। उनले थपे, ‘उक्त वक्तव्यले पार्टीभित्र पछिल्लो समय हावी हुन खोजिरहेको सीमित स्वार्थ समूहको सङ्कीर्ण सोच, वैचारिक अस्पष्टता तथा अवसरवादी प्रवृत्तिलाई मात्र उजागर गरेको छ। यसले पार्टीको आधिकारिक दृष्टिकोणभन्दा पनि निश्चित स्वार्थ समूहको पूर्वाग्रह, सत्ता र शक्ति–केन्द्रित राजनीतिक मनोवृत्तिलाई प्रतिनिधित्व गरेको अनुभूति हुन्छ।’
पार्टीको मूल मर्म, उद्देश्य र दिशालाई विकृत गर्ने कुनै पनि गतिविधि आम पार्टीपंक्तिका लागि स्वीकार्य हुन हुन नसक्ने उनले बताए। उनले उक्त वक्तव्यमा व्यक्त विचार, निष्कर्ष तथा आरोपहरूप्रति आफ्नो स्पष्ट असहमति रहेको बताए।
उनी मात्रै होइन, डा. भट्टराई निकट नेता रोशन पोखरेलले पनि अध्यक्ष परियारमाथि प्रश्न उठाएका छन्। पोखरेलले अध्यक्ष परियारले गत अप्रिल १२ मा सामाजिक सञ्जालमार्फत आफूले पार्टी छाडेको घोषणा गरिसकेको दाबी गर्दै पार्टीको नाममा अहिले वक्तव्य जारी गर्नु अनैतिक भएको बताएका छन्। तर परियारले आफूले पार्टी नछाडेको जिकिर गर्दै आइरहेका छन्।
डा. भट्टराईले पुस्तान्तरणको पक्षमा रहेको स्पष्ट गर्दै कार्यकारी तथा साङ्गठनिक भूमिकाबाट अलग रहने निर्णय यसअघि नै गरिसकेको अवस्थामा उनीप्रति गरिएको टिप्पणी उदेकलाग्दो र हास्यास्पद रहेको टिप्पणी गरे।
उनले भने, ‘उच्च नेतृत्व तथा बौद्धिक व्यक्तित्वको आलोचना गरेर चर्चामा आउन खोजेको मनसाय बुझिन्छ अन्यथा यस्ता हास्यास्पद टिप्पणी बन्द गरिनुपर्छ।’
बैठकले अरू केको गर्यो निर्णय ?
बैठकले पार्टीको एकता महाधिवेशन आगामी असोज ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। महाधिवेशनबारे थप निर्णय लिनको लागि महाधिवेशन आयोजक कमिटीको बैठकले साउन तेस्रो साता बस्ने तय गरेको छ।
विभिन्न शक्ति र समूहमा रहेका वामपन्थी, प्रगतिशील समाजवादीहरूसँगको एकता र ध्रुवीकरणलाई पहलकदमी लिन परियारको नेतृत्वमा संवाद समिति समेत गठन गरेको छ। समितिमा जनार्दन शर्मा, राम कार्की, डा जनक शाह, कृष्ण केसी र जटिल कार्की रहेका छन्।
यस्तै बैठकले सदनमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको विरोध जनाउँदै खेद प्रस्ताव पनि गरेको छ।




