काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियाकप क्रकेटमा सहभागी भएर स्वदेश फर्किएको छ। प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको नेपालले समूह चरणमा युएई, भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। नेपालले एसियाकप इतिहहासमै पहिलो पटक जित निकाल्न सफल भएपनि टेस्ट टोली विरुद्ध भने अपेक्षित प्रदर्शन गर्न सकेन।
नेपालले समूह चरणको पहिलो खेलमा युएइलाई हराएर एसियाकप इतिहासमा पहिलो जितको खाता खोल्यो। नेपालले यसअघि २०१२ र २०१६ मा सहभागिता जनाएको भएपनि दुबै संस्करणमा जितविहीन रहेको थियो। तर यो पटक नेपालले समूहमा एउटा खेलमा जित निकाल्न सफल भयो।
कप्तान इन्दु बर्माले स्वदेश फर्किएपछि प्रतियोगिताका लागि टोली उत्साहि रहेको तर अपेक्षित रुपमा प्रदर्शन गर्न भने नसकेको बताइन्। यद्यपि उनले युएइलाई हराएर अघि बढ्ने सपना साकार भएपनि पाकिस्तानलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा भने सफल नभएको बताइन्।
उनले भनिन्, ‘प्रतियोगिताका लागि हामी इक्साइटेड थियौं। जसअनुसार युएइलाई हराएर अघि बढ्यौं। तर पाकिस्तानसँग कडा टक्कर दिएर सेमिफाइनल पुग्ने लक्ष्य पुरा गर्न सकेनौं। तर हामीले टेस्ट टोलीलाई पनि कडा टक्कर दिन सक्छौं भन्ने कुरा प्रमाणित गर्यौं।’
उनले टेस्ट टोलीसँगको खेलाडीहरुको अनुभवले आगामी दिनमा थप सुधार र अगाडी बढ्नका लागि प्रेरणा मिलेको बताइन्। यद्यपि उनले नेपाली महिला टीमलाई अझै सुधारको जरुरी रहेको बताइन्।
कप्तान बर्माले भनिन्, ‘हामीले बलिङ र ब्याटिङ सँगै सबै क्षेत्रको सुधारका लागि प्रयासहरू गर्नुपर्छ। विस्तारै हामी आफूलाई सुधार गरेर टेस्ट टोली विरुद्ध जितको प्रयासमा रहने छौं।’
प्रतियोगितामा एसोसिएटेड टोली भने सेमिफाइनल पुग्न असफल रहे। भोलि हुने सेमिफाइनलमा भारत र बंगलादेश तथा श्रीलंका र पाकिस्तान फाइनल प्रवेशका लागि भिड्दै छन्।




