कपिलवस्तु । कपिलवस्तु ३ का सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द भएको छ । सामान्य विवादको विषयलाई राजनीतिक प्रतिशोध सांध्ने उद्देश्यले सांसद र मेयरलाई फसाउन खोजिएको भन्दै स्थानीयले बजा बन्द संगै यातायात पनि बन्द गराएका छन् ।
शाहद्वयलाई ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका कृष्णनगर उद्योग बाणिज्य संघका अध्यक्ष एवं कोहिनूर मार्बलका संचालक रितेश शर्मा भने फरार भएका छन् । उनीविरुद्ध अपराधिक उपद्रव मुद्धामा बिहीबार पक्राउ पुर्जी जारी भएसंगै शर्मा भागेका हुन् । कपिलवस्तु प्रहरीले शर्मा सहित ७ जना विरुद्ध मुद्धा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी समेत जारी गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्र सिंहले शर्मा सहितको टोली फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको बताए ।
शर्मा सहितको समूहले कृष्णनगरको शाह कम्प्लेक्समा रहेको एक व्यवसायिक कार्यालयमा तोडफोड तथा बन्द गरेको भन्दै कम्प्लेक्सधनी वैभव प्रताप शाहले उनी विरुद्ध अपराधिक उपद्रवमा जाहेरी दर्ता गराएका थिए । सोही घटनाको विवाद मिलाउन शर्माको घर जादा कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह तथा मेयर रजत प्रताप शाह विरुद्ध फरार आरोपी शर्माले ज्यान मार्ने उद्योग दर्ता गराएका थिए । दुबै पक्षको विवादले राजनितिक रुप लिएपछि दुबै पक्षले एक अर्का विरुद्ध जाहेरी दिएपछि प्रहरीले दबाब थेग्न नसकेर दुबै पक्षको मुद्धा दर्ता गरेको थियो ।
विगतमा नेकपा एमाले निकट रहेका शर्मा पछिल्लो समय रास्वपा नजिक भएको स्थानीय बताउंछन् । शर्माले गृहमन्त्री सुदन गुरुङसंग खिचेको फोटो समेत सार्वजनिक भएको छ । सांसद र मेयर शाहद्वयविरुद्ध जाहेरी दिइएको घटनाको पृष्ठभूमिमा शर्माको प्रतिशोधले काम गरेको स्थानीयको दावी छ ।
करिब १ महिना अघि शर्मा सहित उनका सहयोगी फिरोज खाँन र अनुरागमणी त्रिपाठीको समूह चन्द्रौटास्थित लुम्बिनी ग्रीन रिर्सोटको क्यासिनोमा जुवा खेल्न छिर्न खोजेकामा क्यासिनो संचालकले रोकेका थिए । त्यसक्रममा उनीहरु बिच विवाद भएको र शर्माको समूहले कृष्णनगरस्थित शाह कम्प्लेक्समा रहेको क्यासिनोको सम्पर्क कार्यालयमा असार २८ गते आईतबार विहान ११ बजे कार्यालय जलाईदिने भन्दै कर्मचारीलाई बाहिर निकालेर तालबान्दी गरिदिएका थिए ।
कार्यालयका सञ्चालक वैभव प्रताप शाहका अनुसार गैरकानूनी रुपमा क्यासिनो प्रवेश गर्न खोजेका शर्माको समूहलाई रोक्दा प्रतिशोध सांधेर अहिले सांसद र मेयर विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिइको हो । उक्त घटनामा विवाद भएपछि केही युवाहरु रितेश शर्माको घरमा गई विवाद गरेको जानकारी पाएपछि छिमेकी समेत रहेका सांसद शाह र मेयर शाह उनलाई सम्झाउन बुझाउन र विवाद मिलाउन घरमा गएको स्थानीयबासीहरु बताउंछन् ।
आफ्नो अनुमति बिना घर किन पसेको भन्दै शर्मा आफैले सरसामान फाल्ने र तोडफोड सुरु गरेपछि सबै त्यहांबाट निस्किएका थिए । दुई महिना अघि पनि कृष्णनगर उद्योग बाणिज्य संघका अध्यक्ष शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गत सामाजिक संजालमा चरित्र हत्या गरेको भन्दै कपिलवस्तु प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । तर शर्मा र उनका परिवारले उनी मानसिक रोगी रहेको र विगत ५ बर्ष देखि नियमित औषधी सेवन गरेको भन्दै मेडिकल रिर्पोट देखाएपछि सोही आधारमा प्रहरीले सरकारी वकिल कार्यालयको सहमतिमा शर्मालाई रिहा गरेको थियो ।
असार ३ गते सोही मुद्धामा शर्माले कपिलवस्तु जिल्ला अदालतमा समेत आफ्नो बयानमा मानसिक रोगी रहेको र नियमित औषधी सेवन गरेको भन्दै थुनामा नपठाउन माग गरेका थिए । अदालतले शर्मालाई साइबर क्राइम मुद्धामा ८५ हजार धरौटीमा छाडेको थियो । मानसिक रुपमै ठीक नभएको व्यक्तिको भनाईकै आधारमा प्रहरीले सांसद र मेयरविरुद्ध मुद्धा दर्ता गर्नुले प्रतिशोध सांधेको पुष्टी हुने स्थानीय मुकेश गुप्ताले बताए । प्रहरीले अनुसन्धान नै नगरी दबाबमा मुद्धा दर्ता गरेको बताउदै उनले मानसिक रोगीहरुको दबाबमा जादा प्रहरीले जनदबाबको सामना गर्न नसक्ने बताए ।




