बाबुराम महत - कतार ।
राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारहरूले यस वर्षको तिजलाई विशेष तथा ऐतिहासिक बनाउने उद्देश्यका साथ "परदेशैले" नामक तिज गीतको छायाङ्कन कतारमा सम्पन्न गरेका छन्।
गीतका गायक तथा सर्जक नयन शर्मा हुन्।
नेपालका पछिल्लो पुस्ताका चर्चित सङ्गीत संयोजक सुनिल परियारको उत्कृष्ट सङ्गीत संयोजन रहेको यस गीतमा सर्जक नयन शर्मासँगै कृष्ण दर्लामी, बाबु कौशल, नारायण देवकोटा, रेश्मी सेन्चुरी, गुना मगर, लक्ष्मी कार्की र गंगा बिसीको स्वर रहेको छ।
गीतको रेकर्डिङ कतारस्थित सङ्गीत महल स्टुडियोमा स्टुडियोका प्रबन्ध निर्देशक निरज थापाको संयोजनमा गरिएको हो भने मिक्सिङ तथा बाजा भर्ने कार्य नेपालस्थित चर्चित मालाश्री स्टुडियोमा सम्पन्न गरिएको हो।
"परदेशैले" गीतले परदेशमा रहेका लाखौँ नेपालीहरूको पीडा, भोगाइ, संघर्ष र जीवनको यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। गीतका मौलिक, भावुक र यथार्थपरक शब्दहरूले छायाङ्कनकै क्रममा उपस्थित दर्शकहरूको मन छोएको तथा धेरैका आँखा रसाएको दृश्य देख्न सकिन्थ्यो।
गीतको भिडियो कतारको चर्चित नेपाली रेष्टुरेन्ट फुलबारी रेष्टुरेन्ट, सनैयाको सभाहलमा छायाङ्कन गरिएको हो। भिडियोमा कतारमा रहेका प्रतिभाशाली कलाकारहरूको अभिनय र नृत्य पनि समावेश गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका अध्यक्ष कृष्ण ढकाल र करिश्मा दाहालको अभिनयसँगै कतारमा छुट्टै पहिचान बनाएका कलाकार पुकार थापा, पुरन सिङ, जमुना बिसी र सुस्मिता विश्वकर्माको आकर्षक नृत्य रहेको छ।
गीतको निर्देशन कतारबाट दर्जनौँ गीत निर्देशन गरिसकेका निर्देशक कृष्ण सेन्चुरीले गरेका हुन् भने नृत्य निर्देशन कतारका चर्चित नृत्य निर्देशक जनक लाफा मगरले गरेका छन्। भिडियोको छायाङ्कन कतारका चर्चित छायाकार सुनिल सुन्दासले गरेका हुन्।
छायाङ्कनका क्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका प्रमुख सल्लाहकार शिवराम ढकाल, फुलबारी रेष्टुरेन्टका प्रबन्ध निर्देशक यमलाल बंजाडे, नेपाली महिला समाज कतारका अध्यक्ष सुष्मा खतिवडा, उपाध्यक्ष मेनुका खतिवडा लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाउनुका साथै कलाकारहरूलाई थप हौसला प्रदान गरेको थियो।
कलाकारहरूको सम्पूर्ण टिमका अनुसार "परदेशैले" गीत छिट्टै नयन शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। परदेशी नेपालीहरूको भावना र यथार्थलाई समेटिएको यस गीतले दर्शक तथा श्रोताको मन जित्नेमा टोली पूर्ण विश्वस्त रहेको जनाएको छ।




