काठमाडौं । भारतमा हजारौँ जेनजी प्रदर्शनकारीहरू शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै राजधानी नयाँ दिल्लीका सडकमा उत्रिएका छन् ।
केही महिनाअघि व्यंग्यात्मक अनलाइन अभियानका रूपमा सुरु भएको ‘ककरोच जनता पार्टी’ अहिले भारतका सबैभन्दा चर्चित युवा आन्दोलनहरूमध्ये एक बनेको छ ।
राजधानी नयाँ दिल्लीमा सोमबार युवा नेतृत्वको ‘ककरोच जनता पार्टी’ आन्दोलनका सयौँ समर्थकहरू ‘संसद् मार्च’का लागि भेला भएका थिए । यद्यपि, दिल्ली प्रहरीले उक्त मार्चको अनुमति दिन अस्वीकार गरेको थियो ।
जन्तरमन्तर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सम्पूर्ण क्षेत्रलाई ब्यारिकेड लगाएर सुरक्षा घेरामा राखिएको थियो ।
प्रदर्शनकारीहरूले आफूहरू भारतको शिक्षा प्रणालीका विफलताविरुद्ध आफ्नो आवाज संसद्सम्म पुर्याउन सडकमा उत्रिएको बताएका थिए । उता, संसद्को मनसुन सत्र सुरु हुनुअघि प्रशासनले जन्तरमन्तर तथा वरपरका क्षेत्रमा थप प्रहरी र अर्धसैनिक बल परिचालन गरेको थियो ।
संसद् भवनबाट केही किलोमिटरको दूरीमा रहेको प्रदर्शनस्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
यसै बीच ‘ककरोच जनता पार्टी’को नेतृत्वमा भइरहेको विद्यार्थी आन्दोलनमाथि दिल्ली प्रहरी र र्यापिड एक्सन फोर्स (आरएएफ) ले लाठीचार्ज गरे । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा रगताम्य भएका युवा प्रदर्शनकारीहरू देखिएका छन् । सडकभरि छरिएका चप्पलहरूको बीचमा हेल्मेट र सुरक्षात्मक कवच लगाएका सुरक्षाकर्मीहरूले निहत्था विद्यार्थीहरूमाथि लाठी प्रहार गरिरहेको दृश्य देखिन्छ ।
केही भिडियोहरूमा सुरक्षाकर्मीहरूले भीडबाट छुट्याएर युवाहरूलाई बलपूर्वक घिसार्दै नियन्त्रणमा लिएको पनि देखिन्छ । नीलो रङको पोसाकमा रहेका लाठीचार्जमा संलग्न धेरै सुरक्षाकर्मीहरूको पोसाकमा नेम प्लेटसमेत नभएको देखिएको छ ।
‘सीजेपी’का प्रवक्ता सौरभ दासले प्रशासनमाथि शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि बर्बरतापूर्वक दमन गरिएको आरोप लगाए । उता, केन्द्र सरकारअन्तर्गतको दिल्ली प्रहरीले भने प्रदर्शनकारीहरूले अनुमति नदिइएको क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि हस्तक्षेप गर्नुपरेको जनाएको छ ।
सोमबारको मार्चका क्रममा नयाँ दिल्लीमा शिक्षामन्त्री धर्मेन्द्र प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजीसमेत भएको थियो । करिब २१ दिनदेखि जारी आन्दोलनबारे प्रधानमन्त्री मोदीले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको यही मौनताप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
सरकारमाथि दबाब
शिक्षा मन्त्रीलाई पदबाट हटाउने तथा शिक्षा प्रणालीमा व्यापक सुधार ल्याउने आफ्नो उद्देश्यमा ‘ककरोच जनता पार्टी’ सफल हुन्छ वा हुँदैन भन्ने अहिले नै स्पष्ट छैन । तर, यस आन्दोलनले भारतीय राजनीतिमा उल्लेखनीय प्रभाव पारेको छ ।
सोमबार भएको प्रदर्शन हालका वर्षहरूमा मोदी सरकारविरुद्ध नयाँ दिल्लीमा भएको सबैभन्दा ठूलो विरोध प्रदर्शनमध्ये एक मानिएको छ । यस आन्दोलनले विभिन्न विपक्षी दलका नेताहरूको पनि समर्थन पाएको छ ।
सोमबारको प्रदर्शनका तस्बिर सार्वजनिक भएपछि कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीले गरेको लाठीचार्जलाई प्रजातन्त्रमाथिको प्रहारको संज्ञा दिएका छन् ।
अल इन्डिया तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले संसद् जानुअघि बिहानै प्रदर्शनस्थल पुगेर आन्दोलनकारीहरूसँग ऐक्यबद्धता जनाएकी थिइन् ।
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि आन्दोलनको समर्थन गर्दै नयाँ दिल्लीमा भेला भएका विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि सम्मानजनक व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन् । प्रदर्शनका क्रममा केही सहभागीहरूले मोदी सरकारमाथि शिक्षा प्रणाली, परीक्षा व्यवस्थापन तथा सुशासनका विषयमा प्रश्न उठाएका छन् ।
यो आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका लागि नयाँ राजनीतिक चुनौतीका रूपमा देखिएको छ । आन्दोलनले विपक्षी दलहरू, मानवअधिकार अभियन्ताहरू तथा केही बलिउड कलाकारहरूको समेत समर्थन पाएको छ ।
उता, सरकारका केही वरिष्ठ मन्त्रीहरूले भने आन्दोलनप्रति कडा टिप्पणी गरेका छन् । शिक्षामन्त्री प्रधानले प्रदर्शनकारीहरूमाथि देशविरुद्ध गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
नड्डासँग वार्ता, तीनबुँदे माग
प्रदर्शनकारीहरू संसद् भवननजिक पुगेपछि भारतीय जनता पार्टी (भाजपा)का पूर्वअध्यक्ष तथा केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले आन्दोलनकारीहरूलाई प्रदर्शन अन्त्य गर्न आग्रह गरेका थिए ।
नड्डाले सीजेपीका दुई नेतासँग भेट गर्दै परिस्थिति सामान्य बनाउन सहयोग गर्न अपिल गरेका थिए ।
वार्ताका क्रममा सीजेपीले सरकारसमक्ष तीनवटा प्रमुख माग राखेको जनाएको छ, जसमा सोनाम वाङचुकको तत्काल रिहाइ, शिक्षामन्त्री प्रधानको राजीनामा तथा परीक्षा प्रकरणपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्तिजस्ता विषय थिए ।
सीजेपीका नेताहरूका अनुसार सरकारले हालसम्म कुनै ठोस आश्वासन दिएको छैन । उनीहरूले दिल्ली प्रहरीले सोमबार गरेको कारबाहीका बाबजुद जन्तरमन्तरमा आफ्नो आन्दोलन जारी रहने बताएका छन् ।




