बुटवल । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच सहकार्य गर्ने सहमतिपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ । कांग्रेसका मन्त्रीहरुले लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने बताएका छन् ।
लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार छ । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् ।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेश सरकारको नेतृत्व गरेको दल एमालेले नेकपासँग सत्ता सहकार्यको लिखित सहमति गरेपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने बताए ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले आफ्नो दलले निर्देशन दिनेवित्तिकै आफूहरुले राजीनामा दिने बताए ।
नेपाली कांग्रेस सरकारबाट बाहिरिँदा लुम्बिनीमा एमाले र नेकपाको सरकार बन्न सामान्य बहुमत पुग्ने अवस्था छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद छन् । तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ ९सभामुखसहित०, जसपा नेपालका ३, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका दुई तथा जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक सांसद छन् ।
लुम्बिनीमा एमाले र नेकपा मिल्दा ४२ सांसद पुग्ने भएकाले बहुमत पुग्छ । पूर्व माओवादी पृष्ठभूमिका स्वतन्त्र एक सांसद ९नवलपरासी पश्चिमका खड्गबहादुर बस्नेत० ले पनि यो गठबन्धनलाई साथ दिनेमा दुवै दल विश्वस्त छन् ।




