बुटवल । संसदीय मूल्य, मान्यता र परम्परा विपरीत गृहमन्त्री सुधन गुरूङले संसद्मा सांसदले सोधेको प्रश्नको जवाफ नदिने घोषणा गरेका छन् ।बिहीबार राष्ट्रियसभामा मन्त्रीसँगको प्रश्नोत्तरका क्रममा नेकपा सांसद विष्णुबहादुर परियारले सोधेको पूरक प्रश्नमा मन्त्री गुरूङले जवाफ दिन्नँ भनेका हुन् ।
सांसद विश्वकर्माले निर्मला पन्तको हत्या सम्बन्धमा प्रश्न सोधेका थिए । त्यसक्रममा गृहमन्त्री गुरूङले सांसदहरूलाई यस्ता प्रश्न नगर्न आग्रह गरे । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले पूरक प्रश्न सोध्न समय दिए । सांसद परियारले मन्त्रीले प्रश्न नसोध्नुस् भनेर भन्न नमिल्ने बताए ।
‘मेरो विधायिकी अधिकार हनन् भएको छ, मैले प्रश्न सोध्ने र मन्त्रीले जवाफ दिने संसदीय प्रणालीमा भइरहने कुरा हो’ सांसद परियारले भने । सांसदहरूले विश्वकर्माको भनाइमा समर्थन जनाएर टेबल ठटाएका थिए ।
पूरक प्रश्नमा उनले निर्मलाको परिवारले कति महिनामा न्याय पाउँछ भनेर प्रश्न सोधेका थिए । अध्यक्ष दाहालले जवाफका लागि अनुमति नदिँदै गुरूङले भने- ‘यसको जवाफ दिँदैन ।’
गृहमन्त्रीले जवाफ दिन्नँ भन्दा अध्यक्ष अवाक भए, तर उनले रूलिङ गरेनन् । मन्त्रीले रोष्ट्रममा उभिएर सांसदको प्रश्नको जवाफ नदिने घोषणा गरेको यो दुर्लभ घटना हो ।




