काठमाण्डौ । श्रीलङ्का भ्रमणमा रहेको भारतले घरेलु टोलीसँगको पहिलो टी–२० खेल जितेको छ । जीतसँगै भारतले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ । श्रीलङ्काको पाल्लीखेलेमा हिजो भएको खेलमा पाहुना टोली भारत ४३ रनले विजयी भयो ।
भारतले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १९ ओभर दुई बलमा एक सय ७० रन बनाउँदा अलआउट भयो । उसका पथुम निशंकाले सर्वाधिक ७९ रन बनाए । भारतका रियान परागले तीन, अर्शदिप सिंह र अक्षर पटेलले समान दुई तथा मोहम्मद सिराज र रवि बिष्नोईले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । भारतका कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए । श्रीलङ्काकाका मथिशा पथिरानाले चार विकेट लिए ।
दुई देशबीचको दोस्रो टी–२० खेल आज र तेस्रो तथा अन्तिम खेल पर्सि मंगलवार हुनेछ । त्यसपछि तीन खेलको एकदिवसीय शृङ्खला शुरु हुनेछ ।




