काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता भएको छ। आज प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी फोन संवाद भएको हो।
प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्त्वपूर्ण रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरूले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे।
साथै, उनले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले देखाएको सहयोगको प्रशंसा गरे। खासगरी अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा तथा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गरे।
साथै, प्रधानमन्त्रीले नेपालमा बाढीका कारण बेपत्ता हुनु भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिरहेको बताए।
नेपाल र अस्ट्रेलियाबिच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा कार्यमा अस्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए।
संवादका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्रीले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गरेका थिए।




