बुटवल । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ३९ जनाको जम्बो सचिवालय बनाएका छन् । उनले दुई दर्जनभन्दा बढी सल्लाहकार र कर्मचारीको जम्बो सचिवालय बनाएका हुन् ।
पछिल्लो पटक मन्त्री लम्सालले लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई समेत विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन्।
साबिकका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र खानेपानी मन्त्रालयलाई गाभेर पूर्वाधार विकास मन्त्रालय बनाउँदा राज्यको व्ययभार घटाउन इन्जिनियरिङ समूहका तीन जना सचिवको दरबन्दी कटौती गरी एक जनामा सीमित गरिएको थियो।
तर, प्रशासनिक मितव्ययिताको त्यो सिद्धान्तविपरीत मन्त्री लम्सालले आफ्नै सचिवालयमा भने २२ जना सल्लाहकारसहित ३९ जनासम्मको लस्कर राख्न मिल्ने गरी कार्यविधि बनाएका छन्।
हालसम्म उनको सचिवालयमा दुई दर्जनभन्दा बढी व्यक्ति नियुक्त भइसकेका छन्। मन्त्री लम्सालले भोटेकोशी बाढीपछि ज्ञवालीलाई विज्ञ सल्लाहकारका रूपमा भित्र्याएका हुन्।
मन्त्री लम्सालको सचिवालयमा यसअघि नै तिलोत्तमा ८ का सन्तोष पाण्डेलाई सचिव सरहको पदमा नियुक्त गरिसकिएको छ। पाण्डे बालेन मेयर हुंदा उनको सचिवालयमा थिए । त्यसैगरी संजीव विक्रम राणा र धर्मेन्द्र झालाई विज्ञ सल्लाहकार बनाइएको छ। पुराना दललाई गाली गरेर उदाएको रास्वपाले सरकारमा गएपछि भने पुराना दललाई माथ गर्ने गरी प्रधानमन्त्री र मन्त्रीहरुको जम्बो सचिवालय बनाएर जुन जोगी आएपनि कानै चिरेका उखान चरितार्थ गरेको छ । शुशिला कार्की नेतृत्व्को सरकारले सांसदका स्वकीय सचिव हटाउने निर्णय गरेकोमा रास्वपा सरकारमा आएपछि फेरि ब्युताएर राज्य कोषमा वर्षेनी करोडौं व्ययभार थपेको छ । रुपन्देहीको तिलोत्तमा भलबारी स्थायी ठेगाना भएका लम्साल रुपन्देही १ बाट निर्वाचित भएका हुन् । उनले निर्माण व्यवसायीको खुट्टा भाच्नुपर्छ भन्ने अभिव्यक्ति दिएर विवादित बनेका थिए ।




