बुटवल । बुटवल उपमहानगरपालिका ६ चाँदबारीमा रहेको उर्वर बचत तथा ऋण सहकारी संस्थाले सोमबार गरेको रक्तदान कार्यक्रममा ३२ युनिट रगत सङ्कलन भएको छ ।
सहकारीले वार्षिक रूपमा गर्दै आएको रक्तदान यो पटक साउनमा परेकोले केही थोरै युनिट रगत सङ्कलन भएको सहकारीले जनाएको छ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको उद्घाटनको अवसरमा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले अब अरूको लागि रक्तदान गर्नुभन्दा पनि आफ्नोलागि रक्तदान आवश्यक रहेको बताए ।
उनले नियमित रक्तदानका धेरै फाइदाहरू रहेको बताउँदै रगतबाट सर्ने खालका रोगहरू भए नभएको पुष्टि समेत निःशुल्क रूपमा हुने गरेको बताउँदै स्वस्थ्य मानिसले नियमित रक्तदान गर्न आग्रह गरे ।
कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिक नीराजन राज भण्डारीले नियमित रक्तदानले बुटवलमा रगत अभाव हुन नपाएको भन्दै वार्षिक हुने कार्यक्रमहरूलाई चौमासिक गर्न सुझाव दिए ।
सहकारीका सचिव एवं कार्यक्रम संयोजक माया क्षेत्रीले साउन महिना तथा पदाधिकारीहरू बाहिर भएको अवस्थामा समेत कार्यक्रमलाई निरन्तरता प्रदान गर्न रक्तदान आयोजना गरिएको बताइन् ।
कार्यक्रममा सहकारीका पूर्व अध्यक्षहरू सालिकराम बन्जाडे, राम प्रसाद आचार्य, सहकारी सञ्चालक समिति सदस्य अर्जुन आचार्य लगायतले बोलेका थिए ।




