भैरहवा । नेपाली कांग्रेस सिद्धार्थनगर नगर कार्यसमितिको अधिवेशनबाट देवराज न्यौपाने सभापतिमा निर्वाचित भएका छन्। कुल ३१८ मत गणना हुँदा न्यौपानेले १५९ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी संजिव शर्मा रेग्मीले १५० मत प्राप्त गरे।
न्यौपाने नेतृत्वको प्यानलबाट महिला उपसभापतिमा निलु श्रीस मगर १६२ मतसहित विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी लक्ष्मी अर्यालले १४६ मत प्राप्त गरिन्।
पुरुष उपसभापतिमा गौरव श्रेष्ठ १७४ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अनिल केसीले १३२ मत प्राप्त गरे।
त्यस्तै, सचिवमा धर्मवीर शर्मा १६७ मतसहित विजयी भए। सचिवका अर्का उम्मेदवार पंकज उदासले १४० मत प्राप्त गरे।
सहसचिवमा दिनेश केवट १६५ मतसहित निर्वाचित हुँदा राममिलन यादवले १३९ मत प्राप्त गरे।
नगर कार्यसमिति सदस्यतर्फ वडा नं. १ बाट माधव शर्मा १६७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी खगनाथ गैरेले १३० मत प्राप्त गरे।
वडा नं. ६ को सदस्यमा सीतादेवी थारु १६० मतसहित निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी उर्मिलाकुमारी शर्माले १३६ मत प्राप्त गरिन्।
मतपरिणामअनुसार सभापतिसहित अधिकांश पदमा देवराज न्यौपाने नेतृत्वको प्यानलका उम्मेदवार विजयी भएका छन्।




