बुटवल । नेपाली कांग्रेसका युवा नेता चित्रबहादुर केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कांग्रेसको १५ औं महाधिवेशन आइतबार शुरु भएको छ । महाधिवेशन प्रतिनिधिमा उनी रूपन्देहीबाट चुनिएका हुन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ३ निवासी उनी विद्यार्थी राजनीति हुँदै प्रवासमा सांगठनिक काममा सक्रिय हुँदै अहिले रूपन्देहीमा क्रियाशिल छन् ।
नेपाल विद्यार्थी संघमा स्कुल पढ्दादेखि नै सक्रिय उनी विद्यालयको इकाई सचिव, अध्यक्ष हुँदै क्याम्पस पढ्दा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा र त्रिचन्द्र क्याम्पस, काठमाडौंमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति युएईको २०६६ सालमा संस्थापक सभापति भइ युएई र मध्यपूर्वमा संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
अध्यनशिल र संगठन निर्माणमा अनुभवी उनी समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर पूरा गरेका छन् । यस अघि उनी दुईपल्ट कांग्रेस महासमिति सदस्यमा चुनिएका थिए । नेपाल प्रजातान्त्रिक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष केसी अन्तरराष्ट्रिय नेपाली जनसम्पर्क समिति विश्व सञ्जालका उपसभापति पनि हुन् । पार्टीलाई सांगठनिक र वैचारिक ढंगले पुनःसंरचना गर्नुपर्ने भन्दै निरन्तर अभियान चलाउँदै आएका उनले बदलिएको कांग्रेसको अभियानलाई गति दिन केन्द्रीय सदस्य हुन चाहेको बताए । ‘धेरै साथीहरुले केन्द्रीय नेतृत्वमा जानका लागि सल्लाह दिनुभयो, प्रवासमा काम गरेका साथीहरुले धेरै आग्रह गर्नुभयो, युवा र पाका सबैले केन्द्रीय सदस्यमा उम्मेदवारी आग्रह गरेकोले मैदानमा उत्रेको हुँ,—उनले भने,—बदलिएको कांग्रेसलाई व्यवहारिक रुपमा स्थापित गर्न सघाउन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्दछु ।




