काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार (असोज २३) भएको मतदानको आज (असोज २४) बिहान सम्पन्न मतगणनामा सभापतिका उमेदवार थापाले ६ हजार ५८४ मत ल्याएर विजयी भएका निर्वाचन संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।
निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ बदर भएको थियो ।
०४६ सालको जनआन्दोलनका क्रममा कक्षा–९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी भएका थापा झन्डै चार दशकपछि कांग्रेसको नेतृत्वमा पुगेका हुन् । नवनिर्वाचित सभापति थापाले ०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए ।
०४८ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौं वडा नं ३३ को सचिव बनेका उनी ०५१ मा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, ०५३ मा सचिव र ०५५ सालमा सभापति निर्वाचित भएका थिए ।
०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बनेका थापा ०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष र ०५९ सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याएका थिए । ०६१ मा राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गरेका थापामाथि राजद्रोहको मुद्दा समेत लगाइएको थियो ।
अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो । २०६२/६३ सालको जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रका पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित बनेका थिए ।
०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बनेका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय थिए । ०७० मा काठमाडौं क्षेत्र नम्बर–४ बाट निर्वाचित भएपछि उनले संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याए । ०७१ मा कृषि तथा जलस्रोत समितिको सभापति बनेर उनले कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका खेलेका थिए ।
०७३ मा स्वास्थ्यमन्त्री बनेका थापाले आफ्नो नौमहिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए । ०७४ र ०७९ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसद्मा उठाउँदै आएका थिए ।
०७८ मा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारका पक्षमा काम गर्दै आएका थिए । ०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता बढाउनुपर्ने भन्दै अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थापा त्यसबाट पार्टी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए ।
विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिएका थापाले नौ महिनापछि पार्टीको १५औँ महाधिवेशन गरेर पुनः सभापति पदमा निर्वाचित भएका हुन् राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उनले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आएका थिए ।
युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई उनले आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन् । विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उनको यात्रालाई कांग्रेसको भावी दिशा, संगठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आएको छ ।




