बुटवल । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ ।बीबीसी हिन्दीका अनुसार मृतकको संख्या १२३ पुगेको छ ।
केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २ देखि ३ बजेको बीचमा यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए ।
अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्रीले पिनरई विजयनले आह्वान गरेका छन् ।
खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले बताएका छन् ।
केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । तर यो बाढीपहिरोमा नेपालीहरु परे नपरेको अझै स्पष्ट हुन सकेको छैन ।
उद्धार टोलीले २५० भन्दा बढीलाई जोगाएको बताइएको छ । प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने जनाएको छ ।
मौसम विभागका अनुसार ती क्षेत्रमा २४ घण्टाको अवधिमा २०४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
सन् २०१८ मा केरलामा आएको बाढीपहिरोमा ५०० जनाको मृत्यु भएको थियो । केरला भारतको पहाडी इलाका हो । यहाँ ठूलो संख्यामा पर्यटकहरु पुग्ने गर्दछन् ।




