बुटवल । नियम विपरित सामान खरिदमा संलग्नमाथि कारवाहीको माग गर्दै मोतिपुर खानेपानी तथा सरसफाई संस्थामा तालाबन्दी भएको छ । बेथितिविरुद्ध सचेत नागरिक अभियानको नेतृत्वमा तालाबन्दी भएको हो । उनीहरुले अध्यक्ष जंगबहादुर खत्रीको कार्यकक्षमा तालाबन्दी भएको हो ।
खानेपानी संस्थामा आवश्यक पर्ने सामान खरिद गर्दा ५ लाख माथिका सामानको हकमा कोटेसन माग गरेर टेण्डर प्रकृयामा जानुपर्नेमा अध्यक्ष लगायत पदाधिकारी र कर्मचारीको मिलेमतोमा १८ लाख ५३ हजार रुपैयांको विभिन्न सामान खरिद गरेपछि विवाद भएको हो ।
सामान खरिदपछि आएको बिल भुक्तानीका लागि कोषाध्यक्षकृष्ण नेपालीले चेकमा हस्ताक्षर गर्न नमानेपछि अनियमितता बाहिरिएको थियो ।
अनियमितता छानवीन गर्न जोगबहादुर खत्रीको संयोजकत्वमा छानवीन समिति समेत बनेको खोमराज ढकालले बताए ।
उपभोक्ताहरुले एक धारा एक मतदाता प्रतिनिधि हुनुपर्ने र प्रत्यक्ष चुनाव हुनुपर्ने आफूहरुको माग भएपनि १० धारा बराबर एक प्रतिनिधि चयन गर्ने नियम बनाएर आफू अनुकूल व्यक्तिलाई प्रतिनिधि बनाएर चुनाव जित्ने प्रपञ्च गरिएकाले त्यो खारेज हुनुपर्ने पनि आफूहरुको माग रहेको स्थानीय विजय ढकालले बताए ।
आफूहरुको माग र तालाबन्दीलाई नेकपा माओवादी केन्द्र र स्वतन्त्र नागरिक तथा उपभोक्ताले साथ दिएको ढकालले बताए ।
संस्थाका अध्यक्ष जंगबहादुर खत्रीले छानबिन समितिले प्रतिबेदन बुझाइसकेकाे र सामान खरिदमा भ्रष्टाचार नभएकाे तर प्रक्रियागत त्रुटी भएकाे संस्थाले स्वीकार गरिसकेकाले तालाबन्दी खाेलेर सहमतिमा जानुपर्ने बताए ।
संस्थामा ४२ सय उपभोक्ता छन् ।




