बुटवल । थाई एयर एसियाले भैरहवाबाट साताको ४ वटा उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले ४ वटा नियमित उडान गर्नकोलागि अनुमति प्रदान गरेको हो ।
त्रिभुवन विमानस्थलबाट उडान अनुमति माग गरेकोमा नागरिक उड्डयन प्राधिकरणले भैरहवा उडान गर्ने शर्तमा त्रिभुवन विमानस्थलको उडान अनुमति दिएको जनाएको छ ।
एयर एसियाको थाइलेन्डमा भएको विंग्स (थाई एयर एसिया)ले त्रिभुवन विमानस्थलमा दैनिक एक उडान गर्नको लागि २० सेप्टेम्बर २०२४ बाट उडान गर्ने अनुमति माग गरेकोमा नोभेम्बर ८ बाट विमानस्थल १० घण्टा बन्द हुने भएकाले भैरहवाबाट पनि उडान हुनेगरी अनुमति प्रदान गरेका प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
उडान अनुमति शाखा प्रमुख रहेका भुलले भैरहवाबाट ४ र काठमाडौंबाट ३ वटा बैंककमा उडान हुनेगरी थाई एयर एसियाले उडान अनुमति पाएको बताए ।
२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित नहुंदा विमानस्थल लक्षित गरेर भएको अर्बौं लगानीका व्यवसाय संकटमा परेका छन् । अन्तर्राष्ट्रिय उडान नियमित गर्न भैरहवाका निजी क्षेत्रका संघसंस्थाले निरन्तर आन्दोलन र दवावमूलक कार्यक्रम गर्दै आएका थिए ।
शुरुमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतको जजिरा एयरवेजले झन्डै ६ महिना र त्यसपछि हिमालय एयरलाइन्सले पनि केही महिना उडान गरेको थिए । तर पछि उनीहरूले यात्रु नपाएको भन्दै उडान बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ठप्प जस्तै छ ।
अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि खुसी भएका यहाँका होटेल तथा पर्यटन व्यवसायी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा चिन्तामा रहेका छन् । विमानस्थल बनाउन जग्गाको मुआब्जासहित ४३ अर्ब लगानी र विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट पाँचतारेसहित तारे होटेल र अन्य व्यवसायमा झन्डै ८० अर्ब लगानी भएको छ ।
थाई एयर एसियाले नियमित उडान गरेको खण्डमा सुनसान बनेको विमानस्थल संगै भैरहवाको पर्यटन व्यवसाय थोरै गुल्जार हुने अपेक्षा गरिएको उद्योग ब्यापार संगठन भैरहवाका अध्यक्ष दर्पण श्रेष्ठ बताउंछन् ।
‘थाई एअर एशियाले उडान अनुमति पाएको कुराले भैरहवा मात्र नभई रुपन्देहीका पर्यटन व्यवसायीमा आशा पलाएको छ, अब यो एअरलाइन्सलाई नियमित उडान गराउन सरोकारवाला सबैको सहयोग र साथ चाहिन्छ’–श्रेष्ठले भने–‘सरकारी र निजी क्षेत्रले विदेशी एअरलाइन्सलाई सहज हुने गरी यात्रुको उपलब्धता र अन्य सुविधामा हामी सबै संवेदनशील भएर लागेनौं भने विगतकै हविगत हुन्छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारले अन्य एअरलाइन्सलाई पनि आकर्षित गर्न सक्नुपर्ने बताउंछन् । एक दुईटा मात्रै एअरलाइन्ससंग मात्र नभई धेरै एअरलाइन्सलाई उडानका लागि आकर्षित गर्न सरकारले प्राथमिकता दिनुपर्ने श्रेष्ठको भनाई छ ।




