कपिलवस्तु। कपिलवस्तुको सिमावर्ती जिल्ला भारतको सिद्धार्थनगरमा शनिवार हुन लागेको लोकसभा निर्वाचनलाई मध्य नगर गर्दै आज विहान ६ बजे देखि ६० घन्टाका लागि नेपाल भारत सीमा वन्द गरिएको छ । निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गरी आज विहान ६ बजेबाट मतदान हुने दिन शनिवार सांझ ६ बजे सम्मका लागि सवै सीमा नाकाहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए ।
जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा, सिवलवा लगायतका नाकाहरुमा यातायात तथा मानिसको आवतजावतलाई पूर्ण रुपमा वन्द गरिएको छ । भारतको सिद्धार्थनगर जिल्ला र कपिलवस्तु तर्फका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको आपसी वैठक र सहमतिबाट निर्वाचनमा सीमा क्षेत्रबाट निर्वाचन सुरक्षालाई प्रभाव पार्ने कुनै पनि किसिमका गतिविधि हुन नदिन सीमा क्षेत्रलाई पूर्ण रुपमा ठप्प पार्ने निर्णय भएको हो ।
यस अवधिमा औषधी उपचारका लागि अति आवश्यक काम पर्ने सर्वसाधारणले सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीसंग समन्वय गरी सीमा पार गर्न सकिने सहायक प्रमुख जिल्ला घिमिरेले बताए । नेपाल तर्फ हुने निर्वाचनका बेला पनि यसै गरी भारतीय पक्षले सीमा नाका वन्द गरेर हामीलाई सहयोग गर्छ, सहायक प्रजिअ घिमिरेले भने, “हामीले पनि भारतीय लोक सभा निर्वाचनमा सुरक्षा संवेदनशीलता सहयोगका लागि सीमा नाका वन्द गरेका हौं ।”
यस अवधिमा नेपाल तर्फका सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा वलका सुरक्षाकर्मीहरुले सीमा क्षेत्रको दुवै तर्फ संवेदनशीले ढंगबाट संयुक्त रुपमा सुरक्षा गस्तीहरु गरिरहेका छन् । सीमा नाका बन्द भए संगै सीमा क्षेत्रका कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायतका नेपाली सीमा बजारहरु सुनसान देखिएका छन् ।




