बुटवल । नेकपा एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले दलहरुलाई भाग पुराउन जम्बो मन्त्रिमण्डल बनाउनु गलत भएको बताएका छन् ।
राष्ट्रिय सभामा विपक्षी दलका पुर्व नेता समेत रहेका भट्टराईले मधेश प्रदेशमा २० सदस्यीय मन्त्रिमण्डल बनाइएकोप्रति इंगित गर्दै गरीब देशमा मन्त्रीहरुको भीड लगाउनु राम्रो नहुने उल्लेख गरेका छन् ।
उनले देशको, प्रदेशको आवश्यकताले मन्त्री बनाउने हो,भाग पु¥याउन होइन भन्दै सानो मन्त्रिमण्डल बनाउनुपर्ने सुझाएका छन् । अन्यथा जनताले संघीयतालाई मिल्काइदिने चेतावनी समेत उनले दिएका छन् ।
‘साथीहरु, प्रदेशहरुमा मन्त्रीहरुको लावालस्कर किन चाहियो ? मन्त्री हुनेलाई पनि गौरव हुन्छ र ? मलाई त होला जस्तो लाग्दैन,देशको, प्रदेशको आवश्यकताले मन्त्री बनाउने हो,भाग पु¥याउन होइन,जनतातिर फर्काैं,सानो मन्त्रीपरिषद् बनाऔं,जनताको काम गरौं, संघीयता टिक्छ नभए जनता आफै उठेर मिल्काइदिन्छन् ’–भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले यसअघिको १५ सदस्यीय मन्त्रिपरिषदलाई बढाएर २० सदस्यीय बनाएका छन् । मुख्यमन्त्रीको कार्यालयबाहेक ११ मन्त्रालय रहेको मधेशमा ५ जना थपिँदा मधेश सरकारको मन्त्रिपरिषद् अहिलेसम्मकै ठूलो आकार २० सदस्यीय बनेको छ । यो अहिलेसम्मकै जम्बो हो ।




