बुटवल ।एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को पहिलो सिजनमा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपालमा पहिलोपटक भलिबलको फ्रेन्चाइज लिग हुन लागेको हो ।
क्रिकेट र फुटबलपछि फ्रेन्चाइज लिग गर्ने नेपालको राष्ट्रिय खेल भलिबल बनेको छ । इन्फिनिटी ड्रिम्स प्रालिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिगबारे जानकारी दिएको हो ।
पहिलो सिजनको फ्रेन्चाइज लिगमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णाली हुनेछन् ।
काठमाडौंको प्रवर्द्धकमा शरदकृष्ण टिवरेवाला तथा ललितपुरको प्रवर्द्धकमा अनुज एम तिमिल्सिना, अनुज रिमल र विरोचन खनाल छन् । रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा टिम मधेश रहने भएको छ ।
गण्डकीको प्रवर्द्धक सौरभ केडिया र टिम चितवनको प्रवर्द्धक निम्बस होल्डिङ हुन् । राजेश बगडिया र प्रतिक अधिकारीले टिम कर्णालीको प्रवर्द्धन गर्ने भएका छन् ।
काभा महिला भलिबल नेसन्स लिग सकिएको भोलिपल्टै आयोजकले फ्रेन्चाइज टोली सार्वजनिक गरेको हो । इन्फिनिटीका संस्थापक आमिर अख्तरले नेपालमा भलिबल खेल प्रवर्द्धनमा थप टेवा पुर्याउने र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न भलिबलको फ्रेन्चाइज लिग सुरु गरेको जनाएको छ ।
आयोजकले केही दिनमा नै नेपाली खेलाडीको ड्राफ्ट सूची सार्वजनिक गर्ने भएको छ ।




