काठमाडौं । मनसुन बाहिरिने बेला देशभरि भएको लगातारको वर्षा र हावाहुरीले पाकेर भित्र्याउन ठिक्क धान, उखु, तरकारी लगायत कृषिबालीमा ठूलो क्षति पुर्याएको छ ।मौसम खुल्दै गएको भन्दै ढुक्क किसान काटेर सुकाउन राखिएको र काट्न ठिक्क परेको बाली खेतमै डुबेपछि गहिरो समस्यामा परेका छन् ।
सिँचाइ र मल अभाव झेल्दै जसोतसो उब्जाएको अन्न घर भित्र्याउने बेला प्रकृतिले धोका दिएपछि किसानको वर्षभरिको मिहिनेत र लगानी खेर गएको छ भने उत्पादन घट्दा देशले खाद्यान्न आयातमा थप अर्बौं खर्च गर्नुपर्ने अवस्था देखिएको छ ।
बाँकेमा बिउ धानमै क्षति, दाङ र सल्यानमा खेतमै कुहिने डर
दाङका गढवा, राजपुर र राप्ती गाउँपालिका लगायत क्षेत्रमा किसानले काटेर खेतमै सुकाउन राखेको धान पूर्णरूपमा भिजेको छ । भिजेको धान सुकाउन नपाउँदा कुहिने र चिस्यान बढेर गुणस्तर बिग्रने चिन्तामा किसान छन् ।
सल्यान कुमाख गाउँपालिका–३ स्थित इख्रे खोलामा आएको बाढीले करिब ५० रोपनी खेतमा लगाइएको पाक्न लागेको धानबाली पूर्णरूपमा नष्ट गरेको पालिकाले बताएको छ ।
शारदा नगरपालिका–१ का किसान हिमाल योगीका अनुसार अविरल वर्षाले धान ढलेर बिग्रिएको छ ।
समयमा मल नपाएको र अहिले पानीले समेत असर गरेकाले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घट्ने उनको अनुमान छ ।
‘धान चाहिँ ढलेर बिग्रिसकेको छ, पानीले धेरै असर गर्यो,’ किसान योगीले भने, ‘गत वर्षको तुलनामा धान उत्पादन पनि वृद्धि हुँदैन होला, यो वर्ष मल पनि पाइएन, बल्लबल्ल रोपाइँ गरेको, त्यही पनि पानी आएर डुबायो ।’
उनका अनुसार सल्यानमा अहिले फाट्टफुट्ट धान काट्न सुरु भइसकेको छ । अलि अगाडि पाक्ने बिउ लगाएर काटिसकेको धान भने पानीले भिजेको छ । अबको एक साताभित्र सदरमुकाम आसपास अधिकांश ठाउँमा धान काट्ने काम सुरु भइसक्ने उनले जानकारी दिए ।
खेतमा पानी नसुके पनि काटेर प्लास्टिक ओछ्याएर भए पनि धान सुकाउने र भित्र्याउने किसानहरूको योजना छ ।




