कृष्ण पोखरेल
पाल्पा
मधुमेह, सुगर डाइबेटिकका बिरामीहरु केन्द्रविन्दु बनाएर नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनमा आँखा परीक्षण गरिएको छ । लुम्बिनी नेत्र विज्ञान तथा रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको सहयोगमा आँखा अस्पताल तानसेनमा मधुमेहका बिरामीहरुको आँखाको पर्दा, रेटिनोप्याथी जाँच शिविर भएको हो ।
आँखा अस्पताल भैरहवाका वरिष्ट आँखा चिकित्सक एवं निर्देशक ज्ञानेन्द्र लामिछानेलगायतका चिकित्सक टोलीले बिरामीहरुको आँखा जाँच गरेका थिए । सुगरका बिरामीहरुलाई मात्र लक्षित गरेर गरिएको आँखा शिविरमा १२० जनाले आँखा जाँच गराएका थिए । आँखा शिविरमा चेकजाँच गराएका बिरामीमध्ये १० जनालाई जलविन्दु भएकोले थप उपचारको लागि भैरहवा आँखा अस्पतालमा रिफर गरिएको नेपाल नेत्र ज्योति संघ पाल्पाका सचिव राजेन्द्र लिगलले बताए ।
मधुमेह रोग लागेका बिरामीको अन्तिम अवस्थासम्म आँखामा कुनै किसिमको लक्षण देखिंदैन जसको कारण बिरामीलाई एक्कासी अन्धोपन गराउने समस्या बढी भएकोले सामान्य तरिकाको आँखा जाँचभन्दा विशेष प्रकारले आँखा जाँच गरी पु¥याएको असरबारे पत्ता लगाएर आँखाको ज्योति बचाउको लागि शिविरको आयोजना गरिएको वरिष्ट आँखा चिकित्सक ज्ञानेन्द्र लामिछानेले जनाए ।
विभिन्न किसिमको तनाव, खान पानको कारण मधुमेह रोग विश्वभरी जटिल बन्दै गएकोले, मधुमेह पत्ता लागेका आम नागरिकहरुले कम्तीमा वर्षको एक पटक औषधि राखी आँखाको नानी फुलाएर पर्दा चेकजाँच गर्नुपर्ने वरिष्ट आँखा चिकित्सक डा. लामिछानेले स्पष्ट पारे । चिकित्सक डा. लामिछानेले आँखा बिरामी तथा नर्सहरुलाई मधुमेहले आँखामा गर्ने असर, रोकथाम तथा उपचारको बारेमा जानकारी गराएका थिए ।




