सुनवल । विश्व दृष्टि दिवसको अवसरमा लायन्स क्लब अफ बुटवल सेन्ट्रलले सुनवल नगरपालिका–२, खटहरस्थित आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ।
लायन्स अन्तर्राष्ट्रियको ‘भिजन’ कार्यक्रमअन्तर्गत अक्टोबर ८ देखि १८ सम्म सञ्चालन हुने विभिन्न कार्यक्रममध्ये विश्व दृष्टि दिवसका अवसरमा शिविर आयोजना गरिएको क्लबले जनाएको छ। आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, सर्वसाधारणलाई सहज रूपमा आँखा परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउने र दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गरी उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
शिविरमा १३६ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा थप उपचार तथा शल्यक्रिया आवश्यक देखिएका १९ जनाको निःशुल्क आँखाको शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। यस्तै, आवश्यक औषधि वितरणका लागि लायन्स क्लब अफ बुटवल सेन्ट्रलले करिब २० हजार रुपैयाँ बराबरको औषधि सहयोग गरेको थियो।
लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष लायन कृष्णबन्धु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनवल नगरपालिका–२ का वडा अध्यक्ष राजेन्द्र यादव प्रमुख अतिथि तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘पी’ नेपालका DAT टिम एड्भाइजर लायन विष्णु कुँवर विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै क्लबका द्वितीय उपाध्यक्ष लायन कृष्णप्रसाद घिमिरेले विश्व दृष्टि दिवसको महत्व, आँखाको नियमित परीक्षण र दृष्टि सुरक्षाका विषयमा जानकारी गराएका थिए। शिविरमा वरिष्ठ नेत्र सहायक राधिका यादवले सहभागीहरूको आँखा परीक्षण गर्दै आँखाको स्वास्थ्य, दृष्टिसम्बन्धी समस्या पहिचान तथा समयमै उपचारको आवश्यकताबारे परामर्श दिएकी थिइन्।
विशिष्ट अतिथि विष्णु कुँवरले लायन्स अन्तर्राष्ट्रियले अघि सारेका मानवीय तथा स्वास्थ्यसम्बन्धी सेवामूलक अभियानमा लायन्स क्लबहरूको महत्वपूर्ण भूमिका रहेको बताए। उनले समुदायमा प्रत्यक्ष लाभ पुग्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
प्रमुख अतिथि वडा अध्यक्ष राजेन्द्र यादवले स्थानीयस्तरमा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएको बताए। उनले स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा लायन्स क्लबले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।
क्लब अध्यक्ष कृष्णबन्धु अर्यालले समुदायमा प्रत्यक्ष स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि आवश्यकता र समुदायको मागअनुसार स्वास्थ्य तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन लियो–लायन हिमाल खनालले गरेका थिए। उनले समुदायको सेवामा समर्पित भएर यस्ता कार्यक्रम सञ्चालन गर्न पाउनु लायन्स सदस्यका लागि महत्वपूर्ण अवसर भएको बताए।
शिविरमा गरिएको आँखा परीक्षण, निःशुल्क शल्यक्रियाको व्यवस्था तथा औषधि सहयोगले स्थानीयस्तरमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सेवा लिन सहयोग पुगेको आयोजकले जनाएको छ।




