धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज बुधबार विश्वासको मत लिने भएका छन् ।
यहि साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिन लागेका हुन । साउन १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते कांग्रेस र एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था रहेको छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८, नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन् ।
एमाले कांग्रेस र नाउपाले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेका छन् । यता माओवादी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने सम्भावना रहेको छ । आज मुख्यमन्त्री शाहलाई विश्वासको मत लिने वा नदिने भन्ने विषयमा दलहरूले दलको बैठक आह्वान गरेका छन् ।




