बुटवल । अहिले १ बजेको लागि बोलाईएको लुम्बिनी प्रदेशसभा बैठक अझै बस्न सकेको छैन् । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा भएको अविरल वर्षाले सडकमा भएका पहिरो तथा सडक डुबानले सांसदहरु पुग्न ढिलाई भएका कारणले बैठक शुरु नगरिएको सचिवालयले जनाएको छ ।
आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिश्वासको मत लिने कार्यसूचि रहेको छ। साउन ७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दल नेता चेतनारायण आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनले विश्वासको मत पाउनेमा ढुक्क छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले हृवीप जारी गरेका छन् ।
मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस-एमालेसहित साना दलको ह्वीप लगाएका हुन । एमालेले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप लगाएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । यस्तै कांग्रेस दल नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई हृवीप लगएका छन् ।
सरकारलाई समर्थन गरेका जनमत पाटीका दल नेता चन्द्रकेश गुप्ता, लोकतान्त्रिक समाजवादी पाटीका दल नेता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने र सांसदलाई हृवीप जारी गरेको जानकारी दिए ।
प्रदेश सभामा सहभागी १२ वटा राजनीतिक दल मध्य साना राजनीतिक दलले समेत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने योजना बनाएका छन् ।
सरकारलाई जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् । लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, राप्रपा ४, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी १७ सदस्य रहेका छन् । विपक्षमा रहेकाहरुको समेत मत लिनेगरी सत्तासाझेदार दल भित्र तयारी छ ।
८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आज आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।




