बुटवल । लुम्बिनी प्रदेश सरकारका पुर्व मुख्यमन्त्री लिला गिरीले गाडी सुविधा फिर्ता गरेका छन् ।
तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यकालमा पुर्व मुख्यमन्त्रीले गाडी सुविधा पाउने कानुन बनेको थियो । सोही कानुन अनुसार गिरीले गाडी सुविधा लिन पाउथें ।
तर गिरीले पुर्व मुख्यमन्त्रीका रुपमा गाडी सुविधा लिनु उचित नहुने भन्दै मंगलबार प्रदेश सभामा फिर्ता गरेका हुन् ।
‘पुर्व मुख्यमन्त्रीका रुपमा पाउने गाडी सुविधा नलिने भनेर पहिल्यै प्रदेश सभा सचिवालयलाई जानकारी गराएर लिएको थिइन, तर एमाले संसदीय दलको नेता हुंदासम्म संसदीय दलको नेताको हैसियतमा गाडी सुविधा लिएको थिएं’–गिरीले भने–‘संसदीय दलको नेताबाट समेत बिदा भएपछि कानुन बमोजिम नै प्रदेश सरकारले उपलब्ध गराएको गाडी सुविधा फिर्ता गरेको हुं ।’
कानुन छ भन्दैमा आजिवन राज्यबाट सुविधा प्रयोग गर्नु अनैतिक हुने मान्यताले गाडी सुविधा फिर्ता गरेको गिरीले प्रष्ट पारे । गिरी एमालेभित्र सादगी र इमान्दार नेतामा पर्छन् । यसअघि पुर्व मुख्यमन्त्री शंकर पोखरेलले पनि गाडी सुविधा फिर्ता गरेका थिए ।




