मरिच एउटा पिरो स्वाद भएको गरम मसला हो । मरिचको इतिहास धेरै पुरानो छ ।
सामान्यतया अहिले मरिच एकप्रकारको मात्र पाइने गरिए पनि ईसा पूर्व ४०० वर्षको समयमा तीन प्रकारको मरिच हुने गरेको तथा पूर्वीय चिकित्सा शास्त्रमा दुई प्रकारको मरिचका बारेमा उल्लेख गरेको पाइन्छ ।
भारतबाट मौर्यकालमा ग्रीक रोमनतिर निर्यात गरिने कुरा उल्लेख छ । नेपालमा पनि बाहिरी देशबाट मरिच आयात हुने गर्दछ । विभिन्न उपचारपद्दती तथा आयुर्वेदका अनुसार मरिचमा ज्वरनाशक, वातकफ नाशक, पाचक, नाडी दुर्बलता नाशक, सर्दी नाशक जस्ता गुण हुन्छन् ।
मरिच बढी प्रयोग गर्नु हुँदैन । सन्तुलितरुपमा प्रयोग नगरेमा मरिचले शरीरमा बढी गर्मी ल्याउँछ । नाकबाट रगत बग्ने, पेट पोल्ने आदि हुन्छ ।
रोगहरुमा मरिचको प्रयोग :
खोकी लागेमा
४–५ गेडा मरिच र १ चम्चा मह मिसाई खाँदा खोकी लागेको सञ्चो हुन्छ तर बढी सुख्खा खोकी लाग्दा यसमा कागतीको रस समेत मिसाई खानुपर्छ ।
रुघा लागेमा
पानीमा मरिच पकाई पिइरहेमा त्यसबाट रुघा ठीक हुन्छ । मरिच, सुठो बराबर मिसाएर बनाएको आधा चम्चा जति धुलो १ चम्चा महमा मिसाई दिनको २–३ पटक खाँदा रुघाखोकी ठीक हुन्छ ।
दम र खोकीमा
मरिचको गेडा, पिप्ला, सुठो, अदुवा सबैलाई बराबर मिसाई पिस्ने र महमा घोल्ने । १ चम्चाको दरले दिनको ३ पटक केही दिनसम्म खाने गर्दा खोकी लाग्ने र दम बढ्ने ठीक हुन्छ ।
ज्वरो आएमा
१ चम्चा जति मरिचको धुलोलाई २ गिलास पानीमा मिसाई पकाउने र सेलाएपछि खान दिँदा ज्वरोमा पसिना छुट्छ र ज्वरो घट्दछ ।
अपच
तुलसीको पात वा पुदिनाको पातलाई पानीमा मिसाएर पकाउने, साथमा मरिचको धुलो पनि मिलाउने । यसरी पकाएको पानीलाई चियाको रुपमा दैनिक बिहान खाली पेटमा पिउँदा अपचमा फाइदा हुन्छ । मरिच बढी पिरो नहुने गरी राख्नुपर्छ ।
जीउ दुखेमा
हातगोडा गल्ने, जीउ दुख्ने, थाक्ने भएमा दुधमा मह र मरिच मिसाई पिउने गर्दा लाभ हुन्छ ।




