बुटवल । अन्तर्राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता खेल्न छनोट भएका खेलाडीलाई न्यू होराइजन मावि बुटवल र न्यू होराइजन स्पोर्ट्स क्लबले खेल सामग्री प्रदान गर्दै सम्मान गरेको छ ।
सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) को आयोजनामा आगामी अक्टोबरको पहिलो साता श्रीलंकामा हुने प्रतियोगितामा छनोट भएका १८ जना खेलाडीमा न्यू होराइजन माविका तीनजना विद्यार्थी परेका छन् ।
न्यू होराइजनका विद्यार्थीहरु सूर्य विक,सागर रसौली र लेशमन राहाडीमगर सहित रुपन्देहीका दीपेश कुंवर,गुल्मीका सौरभ फुजाली र पाल्पाका रेशम विक तथा भलिबल प्रशिक्षकहरु नरेन्द्र सारुमगर र उदयबम मल्ललाई पनि सम्मान गरिएको हो ।
विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय,उपप्राचार्यहरु बालकृष्ण भण्डारी र वासुदेव अर्याल, न्यू होराइजन स्पोर्टस् क्लबका अध्यक्ष चेतन ठकुरी , उपाध्यक्ष एवं विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल, , खेलकुद तथा अनुशासन काउन्सीलर मिलन राना ,गुल्मी जिल्ला भलिबल संघका अध्यक्ष राजन कुंवर लगायतले खेलाडीहरुलाई सम्मान गरेका हुन् ।
सो अवसरमा खेलाडीहरुलाई खेल खेल्न सहज होस् भनेर जुत्ता र ट्रयाकसुट प्रदान गरिएको थियो । १८ जनाबीचमा एक महिनासम्म चल्ने बन्द प्रशिक्षणबाट उत्कृष्ट १२ खेलाडी छनोट हुने छन् ।
खेलाडीलाई सम्मान गर्दै न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षामा करिब चार दशकदेखि कटिवद्ध देशकै अग्रणी संस्था भएकाले संस्थाले खेलकुदको विकासमा पनि उत्तिकै लगानी र योगदान गरेको बताए । सोही अनुसार अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा छनोट भएका खेलाडीको हौसला र प्रोत्साहनका लागि सम्मान गरिएको बताए ।
जिल्ला भलिबल संघ गुल्मीको समेत सहकार्यमा भएको सो कार्यक्रममा खेलाडी दिपेश कुंवर,रेफ्री कमिस्नर बुद्धि बस्याल, न्यू होराइजन स्पोर्टस् क्लबका बालकृष्ण बस्याल,मिलन राना लगायतले बोल्दै खेलाडीको प्रोत्साहनका लागि सबै क्षेत्रको साथ आवश्यक हुनेमा जोड दिएका थिए ।




