बुटवल । अमेरिकी दूतावासले आइसीसी टी–२० विश्वकपका लागि क्रिकेटर सन्दीप लामिछानेको भिसा नदिएपछि नेपाललाई झड्का लागेको छ । विश्वकपमा खेलेर नेपाललाई चिनाउने सन्दिपको सपना अधुरो रहेको मात्र नभई देशले एउटा महत्वपूर्ण अवसर गुमाएको छ ।
बिहीबार नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई अमेरिका प्रवेश गर्न आवश्यक भिसा दिन अस्वीकार गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए । फर्कने सम्भावना नदेखिएको भन्दै सन्दीपलाई दूतावासले भिसा दिन अस्वीकार गरेको उनको भनाई छ । गत बुधबार पनि अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको थियो । त्यसको एक सातापछि अमेरिकी दुतावासले सन्दीपले भिसाका लागि गरेको आग्रह स्वीकार गरेको थियो ।
दूतावासले सन्दीपलाई भिसा नदिएपछि नेपाल क्रिकेट संघ क्यानयुवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल सुरु गरेका थिए । कुटनीतिक रुपमा सरकारले पहल गरेसँगै सन्दीपले दोस्रो पटक भिसाका लागि आवेदन दिएका थिए । सोही प्रक्रिया अनुसार उनलाई बिहिबार अन्तर्वार्ताका लागि बोलाइएको थियो । सन्दीपलाई भिसा दिन बुधबार माइतीघरमा उनका समर्थकले प्रर्दशन गरेका थिए ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले उनको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवासँगै विश्वकपका लागि सन्दीप टोलीमा फर्कने बाटो खुलेको थियो ।
क्यानले विश्वकपका लागि आइसीसीसामु सन्दीपलाई टोलीमा राख्न गरेको आग्रह स्वीकार गरेको थियो । क्यानले पूर्व घोषित टोलीमा फेरबदल गर्न पाउने मिति २५ मे सम्म सन्दीपलाई पनि समेट्दै खेलाडीको नाम बुझाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सञ्चालन हुन लागेको आइसीसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् ।
क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आइसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ ।
लामिछानेले भिसाका लागि दुई पटक निवेदन दिएपनि दूतावासले दुबै पटक भिसा दिन असमर्थता देखाएको हो । पछिल्लो पटक बिहीबार दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।
पहिलेकै टोलीको निरन्तरता
दोस्रो पटक पनि क्रिकेटर लामिछानेको भिसा अस्वीकार भएपछि १५ सदस्यीय टोलीले नै निरन्तरता पाउने भएका छन् ।
दोस्रो पटक पनि सन्दीपको भिसाा रिजेक्ट भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि घोषणा गरेको १५ सदस्यीय टोलीले नै विश्वकप खेल्ने भएको छ । क्यानले यसअघि घोषणा गरेको १५ सदस्यीय टोली अहिले अमेरिकामा छ । बलात्कार मुद्दातमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्यानले सन्दीपलाई सबैखाले क्रिकेट प्रतियोगिताबाट निलम्बन फुकुवा गरेको थियो ।
निलम्बन फुकुवासँगै सन्दीपले अमेरिकाका लागि भिषा आवेदन दिएका थिए । अमेरिका प्रवेशका लागि आगामी मे २०२५ सम्म भिषा रहे पनि सफाइ पाएको दोस्रो दिनमा उनको भिसाा रद्द गरिएको जानकारी सन्दीपले पाएका थिए । त्यसैले उनले विश्वकप खेल्न जान पाउनका लागि भिसाा आवेदन दिएका थिए । विश्वकपको तयारीका लागि नेपाली टोलीले वेष्ट इण्डिज र अमेरिकामा यसअघि ५ अभ्यास खेल खेलिसकेको छ ।
यस्तै आइसीसीले मिलाएको क्यानडा र अमेरिकासँगको दुई खेलगरी नेपाली टोलीले कुल ७ अभ्यास खेल खेल्नेछ । अन्तिम अभ्यास खेलका क्रममा नेपाली टोलीले बिहीबार राति अमेरिकासँग वार्मअप म्याच खेल्दैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।
नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।
१५ सदस्यीय नेपाली टोलीः
रोहितकुमार पौडेल ९ कप्तान, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।




