बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल (प्रचण्ड) ले सरकारबाट बाहिरिएपछि दिइरहेका अभिव्यक्तिहरु आवेगमा नभई देश र जनताकाे पक्षमा रहेकाे दाबी गरेका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकाहरुले साेधेकाे प्रश्नमा देशकाे वर्तमान भुराजनीतिक जटिलता र चुनाैतीले निम्त्याउन सक्ने संकटका विरुद्धमा बाेलेकाे बताए । पार्टी केन्द्रीय कमिटी बैठककाे तयारीका सन्दर्भमा परामर्श छलफलका लागि आफू देश दाैडाहमा रहेकाे उल्लेख गर्दै प्रचण्डले सरकारले गरेका गलत कामकाे प्रतिवाद गरिरहेकाे समेत बताए ।
सरकार फेरिएकाे तथा पहिलाे र दाेस्राे पार्टी मिलेर सरकार नबन्ने विषयकाे जवाफ संसदबाट दिएकाे प्रचण्डले दावी गरे । बेथिति र भ्रष्टाचार बढ्याे भने सहन सक्दैनौं र सडकमा जान्छौं भन्नुलाई आवेगमा जाेडेर हेरिन नहुने उनले बताए ।
यस्तै, प्रचण्डले पार्टी नेतृत्वका विषयमा छलफल गर्न आवश्यक नरहेकाे उल्लेख गर्दै यथास्थितिमा नेतृत्व हस्तान्तरणकाे पक्षमा नरहेकाे संकेत गरे ।
'नेतृत्व हस्तान्तरणकाे जिषय आजकाे मितिसम्म आएकाे छैन र त्याे आवश्यक पनि छैन,' प्रचण्डले भने, 'तर, म आफै पनि ७० वर्ष कटेकाले मेरा लागि अध्यक्ष पद आवश्यक ठानेकाे छैन । अध्यक्षभन्दा पनि प्रचण्ड माथि भईसक्याे । मात्रै के चाहाना हाे भने एउटा राम्रो टिम बन्याे भने विकल्प खाेज्ने कुरा हाे ।' संविधानले शान्ति सम्झौतालाई अभिन्न अंग मानेकाले संसदमा एमाले संसदहरुले प्रयाेग गरिरहेकाे भाष्य गलत रहेकाे उनले बताए ।
उप-महासचिव जनार्दन शर्माले पेश गरेकाे प्रतिवेदनलाई लिएर माओवादी फुट्न लागेकाे चर्चामा सत्यता नरहेकाे उल्लेख गर्दै सबैकाे धारणालाई साझा बनाएर लैजाने गरी अगाडि बढेकाे प्रचण्डकाे दावि थियाे ।




