पोखरा । संघमा केपी शर्मा ओली प्रधानमन्त्री बनेको डेढ महिनापछि गण्डकी सरकारमा नेकपा एमाले सरकारमा सहभागी भएको छ ।
नवनियुक्त चार जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका चार जना नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सोमबार शपथ ग्रहण गरेका हुन् ।
एमालेकी पद्मा जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्री, मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्री र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रीको शपथ लिएका हुन् ।
सात वटा मन्त्रालय रहेकोमा दुई मन्त्रालय थपेर आइतबार ९ पुर्याइएपछि एमाले पनि सरकारमा सहभागी भएको हो ।
हालका भौतिक मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को मन्त्रालय हेरफेर भएको छ । उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेसका विन्दुकुमार थापा स्वास्थ्य मन्त्रालय टुक्रिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा यथावत छन् । कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला मन्त्री, नेसपाका फणीन्द्र देवकोटा पनि उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा यथावत छन् ।
गण्डकीमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने सहमति भएको थियो । त्यसैअनुसार भागबन्डा भएपनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएका दुई जनालाई नहटाई कांग्रेसको कोटामा मन्त्री यथावत राखेका छन् ।




