बुटवल । नेकपा एमालेले आउँदो चुनाव एक्लै लड्ने जनाएको छ । साथै कार्ययोजना बनाएर एकल बहुमत ल्याउने गरी अगाडि बढ्ने भएको छ ।
सत्ता गठबन्धनमा रहेको कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै हिजो प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले पनि आउँदो चुनाव एक्लै लड्ने घोषणा गरे।
एमाले केन्द्रीय कार्यालय ललितपुरमा हिजोदेखि शुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले कांग्रेससँग सरकारमा सहकार्य भए पनि चुनावमा आ–आफ्नो नीति लिएर प्रतिस्पर्धा गर्ने बताए । पार्टीले एकल बहुमत ल्याउने उद्देश्यसहित ‘मिसन ०८४’ तय गरेको भन्दै उनले त्यसैअनुसार कार्ययोजना बनाउन निर्देशन दिए ।
गएको आइतवार कांग्रेस केन्द्रीय कार्यसमितिले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको थियो । एमालेले गएको पुसमा झुलाघाटदेखि चिवाभन्ज्याङ मध्यपहाडी राजमार्गमा सङ्कल्प यात्रामा मिसन ०८४ अभियान चलाएको थियो ।
पोलिट ब्युरोको बैठकमा महासचिव शंकर पोखरलेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण कार्ययोजना’ पेस गर्नुभएको छ । पोलिटब्युरो सदस्यले सुझाव दिएपछि कार्ययोजना पारित हुनेछ । एमालेको पोलिट्ब्यूरो बैठक आज पनि चल्नेछ ।




