एमाले रूपन्देहीमा सर्वसम्मत नेतृत्व चयन हुने घोषणा
लुम्बिनी संवाददाता
भैरहवा
एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी महासचिव शंकर पोखरेल र आफूबीच भिन्दाभिन्दै गुट नभएको बताएका छन् । एमाले रूपन्देहीको बैठकलाई सम्बोधन गर्दै उनले कसैले गुटगत गतिविधि गरेको भए त्यो गलत भएको जनाए ।
‘हाम्रा नाममा कसैले गुट बनाएको भए गलत छ । त्यस्तो गर्नेलाई खबरदारी गर्नुस्, हामीबीच कुनै समस्या छैन ।’– उनले भने । उनले पार्टीमा नीति, विधि र नेतृत्वमा एकमत रहेको बताउँदै आगामी एघारौं महाधिवेशनपछि पनि पार्टी अध्यक्षमा केपी ओली हुने प्रष्ट पारे । ‘एघारौं महाधिवेशन आउन साढे दुई वर्ष बाँकी छ । त्यसपछिको अध्यक्ष पनि केपी कमरेड हुने निश्चित भएकाले महासचिव र मेरो बीचमा गुट छ भन्ने प्रचार गर्नु गलत छ ।’-उनले भने ।
उनले आफू शक्तिशाली कम्युनिष्ट पार्टी नेकपाको महासचिव भइसकेकोले पुनः महासचिव हुन नजाने बताए । ‘शंकरजीकोे चाहना भए पुनः महासचिव हुन सक्नुहुन्छ । नभए सातमध्ये एक उपाध्यक्ष हुनुहुन्छ । सात आठ वर्षपछि हुने बाह्रौ महाधिवेशनका लागि अहिलेदेखि कुनै फरक खालको गतिविधि गर्न आवश्यक छैन ।’-उनले भने । उपाध्यक्ष पौडेलले एमाले रुपन्देहीको नेतृत्व सर्वसम्मत चयन हुने बताए ।
‘जसरी तपाईंहरुले गडगडाहट ताली बजाएर प्रतिवेदन पास गर्नुभयो, त्यसैगरी जिल्ला अधिवेशनबाट गडगडाहट ताली बजाएर नेतृत्व चयन गर्नुहुन्छ भन्ने विश्वास छ ।’-उनले भने ।
उनले सर्वसम्मत नेतृत्व चयन उच्चतम लोकतान्त्रिक विधि भएको बताए ।
बैठकमा अध्यक्ष तेजेन्द्र केसीले पेश भएको राजनैतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
अधिवेशनको तयारी पूरा
नेकपा एमाले रूपन्देहीको १०औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रूपन्देहीले मंगलबार तिलोत्तमा-१५ कोटिहवामा पत्रकार सम्मेलन गरी बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । जेठ २३ गते बुधबारदेखि भैरहवामा हुने अधिवेशनको बुधबार दिउँसो १ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
पत्रकार सम्मेलनमा अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला अध्यक्ष तेजेन्द्र केसीको संयोजकत्वमा १ सय ६७ सदस्य रहेको मूल व्यवस्थापन कमिटी गठन गरेको जानकारी गराइएको छ । अधिवेशनको बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने तथा अधिवेशनबाट एक अध्यक्ष,एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव रहेको जिल्ला कमिटी निर्वाचित गरिने जानकारी गराइएको छ । जिल्लाका १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८ सय ५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने जानकारी दिइएको छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित छन् ।




