बुटवल । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३ औँ जिल्ला सम्मेलन बिबादित बनेको छ । १८ गतेको लागि तोकिएको निर्वाचन १९ गते सार्दा करिब आधा प्रतिनिधिहरुले बहिस्कार गरेको अवस्थामा एकपक्षिय रुपमा निर्वाचन गरिएको भन्दै बिद्यार्थी नेताहरुले बिरोध गरेका छन् ।
संगठनका उपाध्यक्ष प्रशान्त बञ्जाडेले आधा मात्रै प्रतिनिधि भएको अवस्थामा एक समुहले मात्रै एकपक्षिय निर्वाचन गरेको आरोप लगाए ।पार्टीभित्र गुटगत राजनीति हुँदा सबैको मर्म अनुसार निर्वाचन नभएको उनको तर्क छ।
पार्टिकै जिम्मेवार नेताहरुले बिद्यार्थी संगठनमा हस्तक्षेप गरेको भन्दै करिब आधा प्रतिनिधिहरुले बन्द सत्रलाई पुनः सञ्चालन गर्नुपर्ने भन्दै उम्मेदवारी फिर्ता लिएर निस्केको समयमा निर्वाचन गराएपछि बिबाद बाहिर आएको हो । अधिवेशनमा १८५ जना प्रतिनिधि मतदाता रहेकोमा जम्मा ९९ मत मात्रै खसेको छ । बाँकी ८६ जनाले बहिस्कार गरेको उनले बताए ।
जिल्ला ईन्चार्ज बामदेब क्षेत्रीको रोहबरमा पार्टीभित्रको एउटै समूहका टिकारम आचार्य र माधव अर्याललाई दुई पक्ष जस्तो देखाएर निर्वाचन गराएको उनले आरोप लगाए । उनले दैनिक लुम्बिनी संग भने,‘बिधि पद्दति बिपरित निर्वाचन गराईएको छ । बिभिन्न गुटको बहानामा सिधै पदाधिकारीमा चुनाव लड्न दिइएको छ । पार्टीकै जिल्ला ईन्चार्ज सहितका जिम्मेवार नेताहरुले बिद्यार्थी संगठनमा हस्तक्षेप गरे । ’
यता नवनिर्वाचित अध्यक्ष टिकाराम आचार्यले पार्टीलाई नमान्ने हो भने संगठनमा बस्नुको औचित्य नभएको बताउँछन् । निर्वाचन कमिटि पार्टीले नै बनाएको बताउँदै बहिस्कार भन्दा पनि केही प्रतिनिधि अनुपस्थित रहेको बताए। उनले जिल्ला अध्यक्ष र ईन्चार्जलाई नै नमान्दै बाहिर बसेर बिरोध गर्नुको औचित्य नरहेको बताए । उनले सबैलाई मिलाएर लैजाँदै सहकार्यको बाताबरण बनाउन आवश्यक पहल गर्ने समेत बताए ।
अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति चयन भएको छ। अध्यक्ष र तीन उपाध्यक्षमा मात्रै निर्वाचन भएको थियो । तीन उपाध्यक्षहरुमा विशाल पौडेल, हिमाल खनाल र मधुसुधन गाहा बिजयी भएका छन् ।वलयसन थापा र मधु आचार्य भने उपाध्यक्षमा पराजित भएको निर्वाचन समितिले जनाएको छ।
माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जीसीले आपसी एकता कायम गरेर सहमतिमा नेतृत्व चयन गर्न विद्यार्र्थी प्रतिनिधिबाटै माग भएको तर सहमतिमा नेतृत्व चयन हुन नसक्दा एक पक्ष निर्वाचनमा सहभागी नभएको बताए । ‘अहिलेको अवस्थामा पार्टी भित्र र भातृ संगठनहम पनि सुदृढ एकता र सहमति हुनुपर्ने हो, विद्यार्थीको अधिवेशनमा त्यसमा कमजोरी भएको छ’–जीसीले भने ।




